
नेपाली साहित्य र आरोग्य क्षेत्रलाई एउटै अभियानमार्फत जोड्ने उद्देश्यसहित मकवानपुरको सुपिङमा पहिलोपटक ‘आरोग्य साहित्यिक यात्रा’ आयोजना हुने भएको छ।
‘स्वस्थ शरीर, स्वस्थ सृजना’ भन्ने मूल नारासहित यही असार २९ र ३० गते सञ्चालन हुने उक्त कार्यक्रमको परिकल्पना तथा संयोजन कलाकार, साहित्यकार एवं आध्यात्मिक अभियन्ता सोविता सिंखडाले गरेकी हुन्।
मकवानपुरको सुपिङस्थित सुपिङ गर्ज क्याम्पमा हुने दुईदिने कार्यक्रममा साहित्य, कला, चलचित्र र सञ्चार क्षेत्रका प्रतिष्ठित स्रष्टाहरूको सहभागिता रहने जनाएको छ। कार्यक्रमका सल्लाहकार मदन पुरस्कार विजेता वरिष्ठ कथाकार महेशविक्रम शाह रहने छन् भने पूर्वमुख्यसचिव तथा आरोग्य अभियन्ता बैकुण्ठ अर्यालको विशेष सहभागिता रहनेछ।
कार्यक्रममा मदन पुरस्कार विजेता आख्यानकार नारायण वाग्ले र अमर न्यौपाने, आख्यानकार नयनराज पाण्डे, अभिनेता, लेखक तथा निर्देशक खगेन्द्र लामिछाने, उपन्यासकार सुविन भट्टराई, लेखक तथा निर्देशक अविनाशविक्रम शाह तथा चलचित्र लेखक एवं निर्देशक मीन भाम सहभागी हुनेछन्।
यस्तै वरिष्ठ सञ्चारकर्मी टीकाराम यात्री र निराजन भण्डारी, लेखक तथा नागरिक अभियन्ता अर्चना थापा, गजलकार बाबु त्रिपाठी, कलाकार सुशील सिटौला, लेखक तथा राजनीतिक विश्लेषक केशव दाहाल, लेखक तथा पत्रकार शेखर खरेल, कवि रिमा केसी, गायिका सोफिया थापा, उपन्यासकार प्रभा बराल, लेखक तथा पत्रकार क्षितिज समर्पण तथा कवि शान्ति प्रियवन्दनाको पनि सहभागिता रहनेछ।
समाजमा प्रभाव पार्ने स्रष्टामार्फत आरोग्य र स्वस्थ जीवनशैलीको सन्देश आम नागरिकसम्म पुर्याउने उद्देश्य राखिएको यस अभियानका क्रममा ध्यान, योग, प्राकृतिक वातावरणमा हाइकिङ, स्थानीय उत्पादनमा आधारित आर्गानिक तथा शाकाहारी भोजनको अनुभव, साथै आरोग्यसम्बन्धी अन्तरक्रिया र विमर्शका कार्यक्रम हुने आयोजकले जनाएको छ।
स्रष्टाले आत्मसात् गरेको आरोग्य चेतना उनीहरूको सिर्जना र सार्वजनिक विमर्शमार्फत समाजका विभिन्न तहसम्म पुग्ने तथा साहित्य र आरोग्यबीचको सहकार्यले नेपाली साहित्यिक क्षेत्रमा नयाँ ऊर्जा थप्ने विश्वास आयोजकको छ।