
काठमाडौं, असार २६ :
त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि बिहीबार पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको मृत्यु भएको छ । वीर अस्पतालको बर्न सेन्टरमा उपचार क्रममा उनको मृत्यु भएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी पवन भट्टराईले बताए ।
भक्तपुरमा डेरा गरी बस्दै आएका गणेश राइड सेयरिङ एपमार्फत राइडरको काम गर्थे । आफूले रोकिराखेको मोटरसाइकलमा महानगर प्रहरीले ह्विल लक गरेर लैजाने प्रयास गरेपछि उनले आफ्नै मोटरसाइकलको पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए । उनको करिब ५५ प्रतिशत शरीर जलेको अवस्थामा वीर अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।
उपचारमा डा. पियुष दाहालका अनुसार शरीरको ५५ प्रतिशतभन्दा बढी भाग जलेका कारण उनको अवस्था अस्पताल ल्याइएकै समयदेखि अत्यन्त गम्भीर थियो ।