
कागेश्वरी मनोहरा नगरपालिकाले चालू आर्थिक वर्षमा तीव्रता दिएको गरेको बजार अनुगमन सफल र प्रभावकारी भएको छ । बजार अनुगमन शाखाकी प्रमुख शान्ति ढकालका अनुसार चालू आर्थिक वर्षमा हालसम्म ३०० भन्दा बढी पसल तथा व्यवसायको अनुगमन सम्पन्न भइसकेको छ। बजार अनुगमन शाखाले 'बजार अनुगमन निर्देशिका २०८२' जारी गरेसँगै नगरभित्र नियमित र आकस्मिक अनुगमन सुरु गरेको हो। योसँगै नगरभित्रका व्यापार–व्यवसायमा निगरानी बढाएको छ।
अनुगमनका क्रममा विशेषगरी माछा–मासु तथा मिठाई पसलहरूमा म्याद नाघेका, बिग्रिएका र सडे–गलेका खाद्य सामग्री फेला परेको भन्दै ती सामग्री तत्काल जफत गरी नष्ट गरिएको उनले जानकारी दिइन्। व्यवसायीलाई लिखित चेतावनी दिने, अखाद्य सामग्री जफत गरी नष्ट गर्ने र आगामी दिनमा पनि लापरवाही दोहोरिए सम्बन्धित पसल सिल गर्नुका साथै जरिवाना लगायतका कानुनी कारबाही गरिने शाखा प्रमुख ढकालले बताइन्। चार सदस्यीय विशेषज्ञ टोलीले नियमित रूपमा फिल्डमा खटिएर अनुगमन गरिरहेको छ।
नगरपालिकाले अनुगमनलाई नियमित बनाएपछि उपभोक्तामा समेत सचेतना बढ्न थालेको जनाएको छ। उनका अनुसार अहिले दैनिक दुईदेखि तीन जनासम्म उपभोक्ता बजारमा हुने ठगी, गुणस्तरहीन सामग्री बिक्री तथा अन्य समस्याबारे गुनासो लिएर नगरपालिका पुग्ने गरेका छन्। पूर्वनिर्धारित तालिकाअनुसार हुने अनुगमनका अतिरिक्त ‘हेलो सरकार’ तथा उपभोक्ताबाट प्राप्त मौखिक वा लिखित उजुरीका आधारमा पनि टोली तत्काल सम्बन्धित स्थानमा पुगेर अनुगमन गर्ने व्यवस्था गरिएको छ।
हाल खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुलाई प्राथमिकतामा राखेर अनुगमन भइरहेको नगरपालिकाले जनाएको छ। आगामी दिनमा भने बजारमा हुने एकाधिकार (सिन्डिकेट), अस्वाभाविक मूल्यवृद्धि, कृत्रिम अभाव तथा उपभोक्ता हितविपरीतका अन्य गतिविधिलाई समेत प्राथमिकतामा राख्दै अनुगमनको दायरा थप विस्तार गरिने शाखा प्रमुख ढकालले जानकारी दिइन्।
नगरपालिकाले उपभोक्ताको स्वास्थ्य, खाद्य सुरक्षाको सुनिश्चितता र बजारलाई व्यवस्थित बनाउने उद्देश्यका साथ सञ्चालन गरेको आकस्मिक तथा नियमित बजार अनुगमन प्रभावकारी बन्दै गएको स्थानीयवासीको भनाइ छ।