कास्की, असार २९ :

कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित  किम्रुङ खोलामा आज आएको बाढीका कारण मोदी खोलाको पानीको सतह एक्कासी बढ्दा नदी किनारका दुई घरमा क्षति पुगेको छ ।

बाढीका कारण अन्नपूर्ण गाउँपालिका–८ र १० को सीमाना स्याउलीबजारमा रहेको दीलिप गुरुङको घर र होटल पूर्ण रुपमा बगाएको छ । यसैगरी स्थानीय जगन पुनको रेष्टुरेन्टमा क्षति पुगेको गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले जानकारी दिए । उनका अनुसार मोदी खोलाको कटानका कारण नयाँपुल–घान्द्रुक सडक पूर्ण रुपमा बन्द भएको छ ।

यसैगरी बाढीले किम्रुङ खोलामाथि रहेको झोलुङ्गे पुल समेत बगाएको छ । अन्नपूर्ण पदमार्गअन्तर्गत पर्ने उक्त पुल बगेसँगै स्थानीय बासिन्दा तथा स्वदेशी–विदेशी पर्यटकको आवतजावत पूर्ण रूपमा प्रभावित भएको छ । गाउँपालिकाका अध्यक्ष केसीले किम्रुङ खोलामा लेदोसहितको बाढी आउँदा मोदी खोलामा पानीको सतह बढ्दा क्षति पुगेको बताए ।

“एक्कासी आएको बाढीका कारण मोदी खोलाले एउटा घर पूर्ण रुपमा बगाएको छ भने एउटा रेष्टुरेन्टमा क्षति पुगेको छ । पर्यटकीय गाउँ घान्द्रुक जाने सडक बगाएको छ”, अध्यक्ष केसीले भने ।