
नेपाली कांग्रेसका सचेतक निश्कल राईले सरकारले प्रधानमन्त्री बालेन्द्र शाहलाई कानुन र संविधानभन्दा माथि राख्ने प्रयास गरिरहेको आरोप लगाएका छन्।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद राईले सरकारको कार्यशैली स्वेच्छाचारी बन्दै गएको टिप्पणी गर्दै नागरिकको अभिव्यक्ति स्वतन्त्रता संकुचित पार्ने प्रयास भइरहेको दाबी गरे।
उनले सरकार बालेन शाहलाई प्रश्न गर्न नपाइने व्यक्तिका रूपमा स्थापित गर्न खोजिरहेको आरोप लगाउँदै भने, “सरकारले खासगरी श्री ८ बालेन शाहलाई प्रश्न गर्न पाइँदैन भनेर स्थापित गर्न खोजिरहेको छ। देशको संविधान र कानुनको परिधिभित्र रहेर उठ्ने प्रश्नभन्दा माथि श्री ८ हुनुहुन्छ भन्ने सन्देश आम नागरिकलाई दिने काम सरकारले गरिरहेको छ।”
राईले सरकार नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउन खोजिरहेको आरोप पनि लगाए। “यो सरकार भन्दैछ– ‘तँ बोल, त्यति मात्र जे म सुन्न चाहन्छु। तँ हेर, त्यति मात्र जति म देखाउन चाहन्छु। तँ सुन, त्यति मात्र जे म सुनाउन चाहन्छु। तेरो स्वतन्त्रताको घेरा मैले कोरेको शून्यभन्दा बाहिर छैन,’” उनले भने।
सरकारको उक्त प्रवृत्तिलाई उनले पौराणिक पात्र हिरण्यकश्यपसँग तुलना गर्दै, “हिरण्यकश्यपले पनि यो राज्यमा मभन्दा ठूलो कोही छैन, मभन्दा माथि कुनै ईश्वर छैन भनेका थिए,” उल्लेख गरे।
सांसद राईले प्रधानमन्त्रीको विगत र वर्तमान भूमिकाबीचको अन्तरबारे पनि प्रश्न उठाए। विगतमा गरिब तथा उत्पीडितका पक्षमा आवाज उठाउने गीत गाउने व्यक्ति र अहिले १८२ सिटको समर्थनसहित कार्यकारी नेतृत्वमा रहेका प्रधानमन्त्री एउटै व्यक्ति हुन् कि फरक भन्ने प्रश्न उनले सभामुखमार्फत सरकारसमक्ष राखे।
“कुनै बेला ‘मलाई बोल्न दे सरकार, गरिबीको चमेली बोलिदिने कोही छैन’ जस्ता गीत गाउँदै हिँड्ने व्यक्ति र आज १८२ सिटको प्रचण्ड बहुमतसहित कार्यकारी भूमिकामा रहेका प्रधानमन्त्री एउटै व्यक्ति हुन् कि फरक?” भन्दै उनले सरकारको भूमिकामाथि प्रश्न उठाए।