काठमाडौं, असार ३० :

फिफा विश्वकप २०२६ को सेमिफाइनलमा बुधबार हुने अर्जेन्टिना र इंग्ल्यान्डबीचको बहुप्रतीक्षित खेलअघि एटलान्टामा सुरक्षा व्यवस्था कडा पारिएको छ। स्थानीय प्रशासनले खेलका क्रममा कुनै अप्रिय घटना हुन नदिन शहरभर अतिरिक्त सुरक्षाकर्मी परिचालन गरिएको जनाएको छ।

एटलान्टा प्रहरीका अनुसार विश्वकप सेमिफाइनलका कारण शहरमा दर्शक र पर्यटकको संख्या उल्लेखनीय रूपमा बढ्ने भएकाले खेलस्थल, मनोरञ्जन क्षेत्र तथा भीडभाड हुने स्थानहरूमा थप सुरक्षाकर्मी र स्रोत–साधन परिचालन गरिएको छ।

प्रहरीले जारी गरेको विज्ञप्तिमा नागरिक तथा दर्शकको सुरक्षा सुनिश्चित गर्न, आपराधिक गतिविधि रोक्न र सबैले सुरक्षित रूपमा ऐतिहासिक खेलको आनन्द लिन सकून् भन्ने उद्देश्यले विशेष सुरक्षा योजना लागू गरिएको उल्लेख छ।

अर्जेन्टिना र इंग्ल्यान्डबीचको प्रतिस्पर्धा केवल फुटबलमा सीमित छैन। सन् १९८२ मा दुवै देशबीच फकल्यान्ड (अर्जेन्टिनामा माल्भिनास भनेर चिनिने) टापुका विषयमा ७४ दिनसम्म युद्ध भएको थियो। उक्त युद्धमा ६४९ अर्जेन्टिनी सैनिक, २५५ बेलायती सैनिक तथा तीन सर्वसाधारणको ज्यान गएको थियो। फकल्यान्ड टापुको सार्वभौमिकताको विषय आज पनि दुई देशबीच विवादको विषय बनेको छ।

अन्तिम १६ को खेलमा अर्जेन्टिनाले इजिप्टलाई ३–२ ले पराजित गरेपछि केही खेलाडीले माल्भिनास टापु, डिएगो म्याराडोना र लियोनेल मेस्सीलाई समेटिएको गीत गाएको भिडियो सार्वजनिक भएको थियो, जसले खेलअघि थप चर्चा बटुलेको थियो।

यद्यपि अर्जेन्टिनाको २ अप्रिल युद्ध पूर्वसैनिक महासंघले समर्थकहरूलाई राजनीतिक विषयभन्दा फुटबलमै ध्यान केन्द्रित गर्न आग्रह गरेको छ। महासंघले जारी गरेको वक्तव्यमा राष्ट्रिय सार्वभौमिकताको मुद्दा कूटनीतिक र शान्तिपूर्ण माध्यमबाट उठाइने विषय भएकाले त्यसलाई खेलसँग नजोड्न अनुरोध गरिएको छ।

उता इंग्ल्यान्डका गोलरक्षक जोर्डन पिकफोर्डले पनि यो केवल फुटबलको खेल भएको उल्लेख गर्दै मैदानमा फुटबलले नै सबै कुरा बोल्ने बताएका छन्।

यसैबीच अमेरिकी प्रहरी प्रशासनले विश्वकपका क्रममा अमेरिकामा रहेका इंग्लिस समर्थकको व्यवहारको प्रशंसा गरेको छ। तर इंग्ल्यान्डमा भने गत सप्ताहन्त नर्वेमाथिको २–१ को अतिरिक्त समयको जितपछि फुटबलसँग सम्बन्धित ५०० भन्दा बढी घटना भएका थिए भने १०० भन्दा बढी व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।