
नेपाल शिक्षक महासंघले नेपाली चलचित्र ‘मास्टर्नी’ को प्रमोसनल गीतप्रति गम्भीर आपत्ति जनाउँदै उक्त गीत तत्काल हटाउन सम्बन्धित पक्षसँग आग्रह गरेको छ।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाद्वारा शुक्रबार जारी संयुक्त विज्ञप्तिमा सार्वजनिक गरिएको गीतले महिला शिक्षक तथा समग्र शिक्षण पेसाको गरिमामाथि गम्भीर आघात पुर्याएको उल्लेख गरिएको छ।
विज्ञप्तिमा भनिएको छ, “भदौ ५ गतेदेखि प्रदर्शनको तयारीमा रहेको नेपाली चलचित्र ‘मास्टर्नी’को प्रवर्धनात्मक सामग्रीका रूपमा हालै सार्वजनिक गरिएको गीतप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। महिला शिक्षकप्रति लक्षित अमर्यादित शब्द र भाव संयोजन गरिएको उक्त गीतले शिक्षक र शिक्षण पेसाको गरिमामाथि गम्भीर प्रहार गरेको छ।”
महासंघले उक्त गीत तत्काल बन्द गर्न तथा चलचित्रमा प्रयोग नगर्न आग्रह गर्दै त्यसलाई निरन्तरता दिइए त्यसबाट उत्पन्न हुन सक्ने परिस्थितिको जिम्मेवारी चलचित्र निर्माता र सम्बन्धित कलाकारहरूले नै वहन गर्नुपर्ने चेतावनीसमेत दिएको छ।
चलचित्रको प्रमोसनल गीतमा गायक दुर्गेश थापाको शब्द, संगीत र स्वर रहेको छ भने गायिका वविना किराँतीले स्वरमा साथ दिएकी छन्। गीतमा प्रयोग भएका केही दुईअर्थी शब्द र नृत्यका स्टेपलाई लिएर सामाजिक सञ्जालमा आलोचना भइरहेको छ।