साउन ३ :

फिफा विश्वकप २०२६ को तेस्रो स्थानको खेलमा फ्रान्सलाई ६–४ ले पराजित गरेको छ। यसै खेलमा फ्रान्सका स्टार फरवार्ड किलियन एमबाप्पे विश्वकप इतिहासकै सर्वाधिक गोल गर्ने खेलाडी बने।

दुवै टोलीको लक्ष्य विश्वकप उपाधि जित्ने भए पनि सेमिफाइनलमा हार बेहोरेपछि उनीहरू तेस्रो स्थानका लागि भिडेका थिए। फ्रान्स स्पेनसँग स्पष्ट रूपमा पराजित भएको थियो भने इंग्ल्यान्ड अर्जेन्टिनाविरुद्ध अन्तिम समयमा खेल गुमाउँदै फाइनल पुग्न असफल भएको थियो।

खेलअघि टोलीमा व्यापक परिवर्तन

शनिबार मियामीको अत्यधिक गर्मीमा भएको खेलका लागि दुवै प्रशिक्षकले टोलीमा धेरै परिवर्तन गरेका थिए।

इंग्ल्यान्डका प्रशिक्षक थोमस टुचेलले कप्तान ह्यारी केन र जुड बेलिङ्घमलाई सुरुआती ११ मा राखेनन्। यता १४ वर्षपछि फ्रान्सको प्रशिक्षक पद छोड्न लागेका डिडिएर डेसचाम्प्सले ब्राड्ली बार्कोला र उस्मान डेम्बेलेलाई पनि बेन्चमा राखेका थिए।

इंग्ल्यान्डको शानदार सुरुआत

खेलको तेस्रो मिनेटमै डेक्लान राइसले टाढाबाट उत्कृष्ट गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाए। त्यसपछि एज्री कोन्साले हेडमार्फत गोल गर्दै स्कोर २–० बनाए।

फ्रान्सका किलियन एमबाप्पे र माइकल ओलिसेले लगातार आक्रमण गरे पनि इंग्ल्यान्डका दोस्रो रोजाइका गोलकिपर डिन हेन्डरसन उत्कृष्ट लयमा देखिए।

त्यसपछि बुकायो साकाले तीव्र काउन्टर आक्रमणमार्फत तेस्रो गोल गरे। पहिलो हाफको इन्जुरी समयमा साकाले व्यक्तिगत दोस्रो गोल गर्दै इंग्ल्यान्डलाई ४–० को बलियो अग्रता दिलाए। उक्त गोलपछि प्रशिक्षक टुचेलले उत्साहपूर्वक मुट्ठी कस्दै खुसी व्यक्त गरेका थिए।

डेसचाम्प्सको असन्तुष्टि, एमबाप्पेको ऐतिहासिक उपलब्धि

पहिलो हाफको प्रदर्शनलाई फ्रान्सका प्रशिक्षक डिडिएर डेसचाम्प्सले फ्रान्सेली टिभी च्यानल सँग कुरा गर्दै "विनाशकारी" भएको बताए र आफ्ना खेलाडीहरूलाई दोस्रो हाफमा आत्मसम्मानका लागि खेल्न आग्रह गरे।

त्यसपछि उनले डेम्बेले, दायोट उपामेकानो, लुकास डिन्ये र बार्कोलालाई मैदानमा उतारे। परिवर्तनको प्रभाव तुरुन्तै देखियो। किलियन एमबाप्पेले गोल गर्दै प्रतियोगितामा आफ्नो नवौं गोल पूरा गरे। यससँगै उनले लियोनेल मेस्सीलाई पछि पार्दै गोल्डेन बुटको दौडमा शीर्ष स्थान कब्जा गर्नुका साथै विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता बन्ने कीर्तिमान पनि कायम गरे।

खेलको स्वरूप पूर्ण रूपमा बदलियो

दोस्रो हाफमा खेलको स्वरूप पूर्ण रूपमा परिवर्तन भयो। ब्राड्ली बार्कोलाले फ्रान्सका लागि अर्को गोल गर्दै अन्तर घटाए जसपछि प्रशिक्षक डिडिएर डेसचाम्प्सले बेन्चमा बसेर मुट्ठी कस्दै उत्साह व्यक्त गरे।

त्यसपछि किलियन एमबाप्पेले माइकल ओलिसेको पासमा अर्को गोल गर्दै खेलमा आफ्नो दोस्रो गोल पूरा गरे। योसँगै उनले विश्वकप इतिहासमा २२ गोल पुर्‍याउँदै सबैभन्दा धेरै विश्वकप गोल गर्ने खेलाडीको नयाँ कीर्तिमान बनाए।

यस गोलसँगै उनले २०२६ विश्वकपको गोल्डेन बुट दौडमा पनि लियोनेल मेस्सीभन्दा दुई गोलले अग्रता बनाए।

फ्रान्सले खेल बराबरी गर्ने थुप्रै अवसर गुमायो। त्यसपछि मालो गुस्टोले पेनाल्टी क्षेत्रमा जेड स्पेन्सलाई लडाएपछि इंग्ल्यान्डले पेनाल्टी पायो।

बुकायो साकाले पेनाल्टीलाई सहजै गोलमा परिणत गर्दै आफ्नो ह्याट्रिक पूरा गरे।

खेल सकिनुअघि उस्मान डेम्बेलेले फ्रान्सका लागि चौथो गोल गरे। तर त्यसलगत्तै जुड बेलिङ्घमले व्यक्तिगत कौशल प्रदर्शन गर्दै अर्को गोल गरे जुन खेलको १०औँ गोल थियो।

यस गोलसँगै बेलिङ्घम विश्वकपमा सात गोल गर्ने पहिलो इंग्लिस खेलाडी बने।

इंग्ल्यान्डको ऐतिहासिक उपलब्धि

तेस्रो स्थान हासिल गर्दै इंग्ल्यान्डले १९६६ मा विश्वकप जितेपछि पहिलोपटक विश्वकपमा उत्कृष्ट नतिजा निकाल्यो। यद्यपि सेमिफाइनलमा साविक विजेता अर्जेन्टिनासँग बेहोरेको हारको पीडा भने टोलीसँगै रहनेछ।

डेसचाम्प्सको अन्तिम विश्वकप

डिडिएर डेसचाम्प्सको नेतृत्वमा फ्रान्सले २०१८ विश्वकप जितेको थियो भने २०२२ मा उपविजेता बनेको थियो।

फ्रान्स २०२६ विश्वकपको बलियो दाबेदार मानिएको थियो र प्रतियोगिताको सुरुआत पनि उत्कृष्ट गरेको थियो। तर सेमिफाइनलमा स्पेनसँग २–० ले पराजित भएपछि उपाधि यात्रामा पूर्णविराम लागेको थियो।

अब तीन पटकको विश्वकप विजेता अर्जेन्टिना र युरोपेली च्याम्पियन स्पेनबीच आइतबार न्यु जर्सीको इस्ट रदरफोर्डमा विश्वकप फाइनल खेल हुनेछ।