काठमाडौं, साउन ३ :

पूर्वप्रधानमन्त्री तथा नेकपा केन्द्रीय संयोजन समितिका सदस्य झलनाथ खनालले प्रदेशमा नयाँ सत्ता समीकरण बनाउने विषयमा अघि बढ्नुअघि पार्टीभित्र विस्तृत छलफल गर्न नेतृत्वसँग माग गरेका छन्।

आइतबार जारी विज्ञप्तिमा उनले व्यक्तिगत स्वार्थ, कुर्सी मोह र दक्षिणपन्थी शक्तिसँगको ‘अपवित्र साँठगाँठ’ बाट पार्टीलाई जोगाउन आग्रह गर्दै कुनै पनि निर्णयअघि केन्द्रीय संयोजन समितिको बैठक बोलाउनुपर्ने बताएका छन्। उनले क्रान्तिकारी उद्देश्य र वर्गीय दृष्टिकोणका आधारमा मात्र प्रदेश सरकार गठनसम्बन्धी नीति तय गर्नुपर्नेमा जोड दिएका छन्।

खनालले वर्तमान सरकारले जनअपेक्षा पूरा गर्न नसकेको, राष्ट्रियता, जनजीविका र सुशासनका क्षेत्रमा चुनौती बढेको दाबी गर्दै यस्तो अवस्थामा वामपन्थी तथा प्रगतिशील शक्तिहरूबीच सिद्धान्तमा आधारित एकता आवश्यक रहेको बताएका छन्। साथै, पद र सत्ता केन्द्रित सम्झौताभन्दा पार्टीको पुनर्गठन र रूपान्तरणलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ।