
गोकर्णेश्वर नगरपालिका अन्तर्गत राजस्व संकलन सेवा आगामी साउन ८ गतेसम्म अवरुद्ध हुने भएको छ।
नगरपालिकाले सोमबार सूचना जारी गर्दै SuTRA Revenue Moduleको स्तरउन्नति तथा आर्थिक वर्ष २०८३/८४ को आर्थिक ऐनअनुसारका नयाँ दररेट सफ्टवेयरमा प्रविष्ट गर्ने कार्य सम्पन्न नभइसकेकाले राजस्व संकलन सेवा थप चार दिनका लागि स्थगित गरिएको जनाएको हो।
यसअघि नगरपालिकाले असार २९ गते जारी गरेको सूचनामार्फत राजस्व संकलन प्रणाली साउन ४ गतेसम्म अवरुद्ध रहने जानकारी गराएको थियो। तर, सफ्टवेयर स्तरोन्नति र नयाँ आर्थिक वर्षका राजस्व दररेट प्रणालीमा समावेश गर्ने कार्य अपेक्षित समयमा पूरा हुन नसकेपछि सेवा साउन ८ गतेसम्म सञ्चालनमा आउन नसक्ने नगरपालिकाले जनाएको छ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत याम नारायण 'गौली'द्वारा जारी सूचनामा नगर कार्यपालिकाको कार्यालय तथा अन्तर्गतका सबै कार्यालयमा SuTRA Revenue Module मार्फत हुने राजस्व संकलन सेवा उक्त अवधिसम्म प्रभावित रहने उल्लेख गरिएको छ।
नगरपालिकाले सेवा अवरुद्ध हुँदा सेवाग्राहीमा पर्न गएको असुविधाप्रति क्षमायाचना गर्दै आवश्यक कामका लागि सेवाग्राहीलाई त्यसअनुसार तयारी गर्न आग्रह गरेको छ।