
वैदेशिक रोजगार विभागअन्तर्गत ईपीएस कोरिया शाखाले सन् २०२६ को प्वाइन्ट बेस्ड सेलेक्सन सिस्टम (पीबीएस) अन्तर्गत पहिलो चरणको कोरियन भाषा परीक्षाका लागि आवेदन खुला गरेको छ।
युवा, श्रम तथा रोजगार मन्त्रालयको साउन ४ गतेको निर्णयअनुसार गणतन्त्र कोरियामा रोजगारका लागि योग्य नेपाली कामदार छनोट गर्ने उद्देश्यले आवेदन आह्वान गरिएको शाखाले जनाएको छ।
शाखाका अनुसार पहिलो चरणको कोरियन भाषा परीक्षा उत्तीर्ण गरेकै आधारमा कोरियामा रोजगारी सुनिश्चित हुने छैन। भाषा परीक्षा प्रारम्भिक छनोट प्रक्रिया मात्र भएकाले दोस्रो चरणको सीप परीक्षण (स्किल टेस्ट) र कार्यक्षमता मूल्याङ्कन (जब क्यापासिटी एसेसमेन्ट) समेत उत्तीर्ण गरेपछि मात्रै अन्तिम छनोटमा पर्न सकिनेछ।
यस चरणमा करिब सात हजार दुई जना भाषा परीक्षामा उत्तीर्ण हुने अनुमान गरिएको छ। उत्पादनमूलक (म्यानुफ्याक्चरिङ) क्षेत्रमा पाँच हजार, कृषि तथा पशुपालनमा दुई हजार, सेवा क्षेत्रमा एक सय र वन क्षेत्रमा एक सय जना उत्तीर्ण गराइने शाखाले जनाएको छ। कोरियामा कामदारको मागअनुसार आवश्यक परे उत्तीर्ण सङ्ख्या थप हुन सक्ने उल्लेख गरिएको छ।
सूचनाअनुसार आवेदन सङ्कलन सम्पन्न भएपछि आवेदक सङ्ख्याका आधारमा परीक्षाको मिति र तालिका ईपीएस कोरिया शाखाको वेबसाइटमार्फत सार्वजनिक गरिनेछ। आवश्यकता अनुसार एक दिनमा पाँच सिफ्टसम्म परीक्षा सञ्चालन गर्न सकिने तथा आवश्यकताअनुसार तालिका परिवर्तन हुन सक्ने जनाइएको छ।
एक व्यक्तिले एकवटा क्षेत्रमा मात्र आवेदन दिन पाउने व्यवस्था गरिएको छ। पहिलो चरणको भाषा परीक्षा उत्तीर्ण गरेपछि छनोट गरिएको क्षेत्र परिवर्तन गर्न पाइने छैन। साथै आवेदन फाराम भर्दा सम्बन्धित क्षेत्रभित्रका उपक्षेत्रमध्ये एक उपक्षेत्र अनिवार्य रूपमा छनोट गर्नुपर्नेछ।
आवेदनका लागि नेपाली नागरिक भई १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेको हुनुपर्नेछ। अर्थात् सन् १९८६ जुलाई २८ देखि सन् २००८ जुलाई २७ बीच जन्मिएका नेपाली नागरिक आवेदन दिन योग्य हुनेछन्।
त्यस्तै, फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, गणतन्त्र कोरियामा गैरकानुनी रूपमा बसोबास गरी फिर्ता नपठाइएको, नेपाल सरकारले अन्य मुलुकमा जान रोक नलगाएको तथा कोरियाको ई–९ वा ई–१० भिसामा पाँच वर्ष वा सोभन्दा बढी अवधि नबसेको हुनुपर्ने योग्यता तोकिएको छ।
ईपीएस कोरिया शाखाले आवेदन, परीक्षा र छनोट प्रक्रियासम्बन्धी विस्तृत सूचना आफ्नो आधिकारिक वेबसाइटमार्फत सार्वजनिक गर्ने जनाएको छ।