काठमाडौै, साउन ६ :

 कागेश्वरी मनोहरा नगरपालिकाका नगरप्रमुख उपेन्द्र कार्कीले चालु आर्थिक वर्ष २०८३/०८४ का सबै विकास योजना र कार्यक्रमलाई द्रुत गतिमा कार्यान्वयन गर्ने घोषणा गरेका छन्। 

आफ्नो पहिलो कार्यकालको अन्तिम आर्थिक वर्षलाई परिणाममुखी बनाउने लक्ष्यसहित उनले मंगलबार नगरपालिकाका कर्मचारीलाई योजनाको कार्यान्वयनमा ढिलासुस्ती नगर्न निर्देशन दिएका हुन्।

नगरप्रमुख कार्कीले विधि, प्रक्रिया र जनहितलाई प्राथमिकतामा राखेर काम गर्न आग्रह गर्दै सेवाग्राहीलाई छिटो, छरितो र प्रभावकारी सेवा प्रदान गर्न जोड दिए। कानुन र प्रक्रियाको पूर्ण पालना गर्नुपर्ने उल्लेख गर्दै उनले त्यसको कार्यान्वयनमा विवेकसमेत उत्तिकै आवश्यक रहेको बताए।

“विधि र प्रक्रियालाई हामी सबैले पालना गरौँ। तर विधि र प्रक्रिया लागू गर्ने क्रममा विवेक गुमायौँ भने त्यसको कुनै अर्थ रहँदैन,” उनले भने।

उनले त्रैमासिक कार्ययोजनालाई आवश्यक परिमार्जन गरी मासिक कार्ययोजना तयार गर्न तथा प्रत्येक योजनाको कार्यान्वयनलाई तीव्र गतिमा अघि बढाउन कर्मचारीलाई निर्देशन दिए। विकास निर्माणका काम कुनै पनि बहानामा लम्ब्याउने वा रोक्ने प्रवृत्ति अन्त्य गर्नुपर्नेमा पनि उनले जोड दिए।

नगरप्रमुख कार्कीले सबै शाखालाई आफ्नो कार्यप्राथमिकता स्पष्ट गरी जनकेन्द्रित, पारदर्शी र परिणाममुखी ढङ्गले काम गर्न आग्रह गरे। नगरपालिकाले प्रशासनिक सेवालाई थप सहज, छरितो र सर्वसुलभ बनाउँदै निर्माणाधीन तथा नयाँ विकास आयोजनालाई समयमै सम्पन्न गर्ने रणनीति लिएको उनले बताए।

विकास निर्माणका काममा सुरुदेखि नै पूर्णता खोज्दा कार्यान्वयनमा ढिलाइ हुन सक्ने उल्लेख गर्दै उनले सही प्रक्रिया, प्रभावकारी कार्यान्वयन र निरन्तर मेहनतलाई प्राथमिकता दिनुपर्ने धारणा राखे।

“हरेक काममा सुरुमै शतप्रतिशत पूर्णता खोज्न थाल्यौँ भने समय लाग्छ र काम पछि पर्छ। सही प्रक्रियाबाट अघि बढ्दै प्रभावकारी कार्यान्वयन गर्नु नै महत्त्वपूर्ण हो,” उनले भने।

नगरप्रमुख कार्कीले विकास निर्माणका काम वा सेवा प्रवाहमा कुनै समस्या देखिए नगरबासीलाई आफूलाई प्रत्यक्ष जानकारी गराउन आग्रह गर्दै समस्या समाधानमा नगर नेतृत्व प्रतिबद्ध रहेको बताए।

नगरपालिकाका अनुसार चालु आर्थिक वर्षभित्र सम्पन्न हुनुपर्ने सबै योजना समयमै पूरा गर्ने, निर्माणाधीन पूर्वाधार आयोजनालाई निर्धारित समयमै सञ्चालनमा ल्याउने, प्रशासनिक तथा व्यावहारिक अवरोध तत्काल समाधान गर्ने तथा सेवा प्रवाहलाई थप झन्झटरहित बनाउने लक्ष्यसहित काम अघि बढाइएको छ।

नगरलाई उपत्यकाकै नमुना र आधुनिक नगरपालिकाका रूपमा विकास गर्न जनप्रतिनिधि, कर्मचारी र नगरबासीबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै नगरप्रमुख कार्कीले समृद्धि अभियानमा सबैको सक्रिय सहभागिताको आह्वान गरेका छन्। कार्यक्रममा उपप्रमुख शान्ता थापा, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीलगायत नगरपालिकाभित्रका सबै शाखाका प्रमुख तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।