हेटौंडा, साउन ६ :

नेकपा एमालेले बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। एमालेले बुधबार प्रदेश प्रमुख दीपकप्रसाद देवकोटासमक्ष समर्थन फिर्ताको पत्र बुझाएको हो।

एमालेले सरकारबाट बाहिरिने निर्णयसँगै आफ्ना मन्त्रीहरूलाई पनि राजीनामा दिन निर्देशन दिएको छ। प्रदेश सरकारमा एमालेका ६ मन्त्री सहभागी छन्। उनीहरूले हाल चितवनमा रहेका मुख्यमन्त्री इन्द्र बानियाँ काठमाडौं फर्किएपछि राजीनामा बुझाउने तयारी गरेका छन्।

एमालेले समर्थन फिर्ता लिएसँगै नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाँ नेतृत्वको बागमती प्रदेश सरकार अल्पमतमा पर्ने अवस्था सिर्जना भएको छ। सरकारको आगामी राजनीतिक समीकरण र विश्वासको मतबारे चासो बढेको छ।