काठमाडौं, साउन ७ :

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले आगामी चार वर्षभित्रमा विश्वविद्यालयहरूमा हुने गरेको राजनीतिक हस्तक्षेप अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

बिहीबार त्रिभुवन विश्वविद्यालयको ६७औँ वार्षिक दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले विश्वविद्यालयको नेतृत्व र प्रशासनलाई राजनीतिक प्रभावबाट मुक्त बनाई योग्यता र क्षमताका आधारमा सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरे।

उनले अब विश्वविद्यालयको नेतृत्व तथा कार्यटोली राजनीतिक भागबण्डाका आधारमा नभई मेरिटोक्रेसी (योग्यता र क्षमता) का आधारमा गठन गरिने बताए।

“यसभन्दा अघिसम्म विश्वविद्यालयमा हुने राजनीतिकरणलाई अबको चार वर्षभित्र पूर्ण रूपमा अन्त्य गर्नेछौँ। अब विश्वविद्यालयको नेतृत्व र टोली भागबण्डाको राजनीतिका आधारमा होइन, मेरिटोक्रेसीका आधारमा निर्माण हुनेछ,” मन्त्री पोखरेलले भने।

उनका अनुसार विश्वविद्यालयमा नियुक्ति, सरुवा, बढुवा लगायतका प्रशासनिक प्रक्रियामा राजनीतिक हस्तक्षेप र दबाब दिने परिपाटीको पनि अन्त्य गरिनेछ।

सरकारका प्रवक्तासमेत रहेका मन्त्री पोखरेलले विश्वविद्यालयको प्राज्ञिक वातावरण सुधार सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै कुनै पनि प्रकारको राजनीतिक दबाब वा हस्तक्षेप भए तत्काल शिक्षा मन्त्रालयलाई जानकारी गराउन सम्बन्धित पक्षलाई आग्रह गरे।