काठमाडौं, साउन ७ :

नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको लोकतान्त्रिक व्यवस्था अपहरित अवस्थामा पुगेको दाबी गरेका छन्। उनले अहिले लोकतन्त्रको सुदृढीकरणभन्दा पनि पुनः प्राप्तिको अवस्था आएको टिप्पणी गरे।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संस्थापक महासचिव पुष्पलालको ४८औँ स्मृति दिवसका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै ओलीले निर्वाचन मात्रै लोकतन्त्रको सुनिश्चित आधार नभएको बताए।

‘नेपालको बलिदानपूर्ण लामो संघर्षबाट ल्याएको लोकतन्त्र अपहरित भएको छ। आज लोकतन्त्रको पुनः सुदृढीकरण होइन, पुनः प्राप्तिको अवस्था आएको छ,’ उनले भने।

उनले चुनाव हुनु मात्र लोकतन्त्रको पर्याप्त आधार नभएको उल्लेख गर्दै निर्वाचन कुन अवस्था, उद्देश्य र वातावरणमा भयो भन्ने विषय महत्वपूर्ण हुने बताए। धेरै देशमा निर्वाचन हुने गरे पनि लोकतन्त्र नरहेको उनको भनाइ थियो।

ओलीले नेपालमा भदौ २३ र २४ गते भएका हिंसात्मक घटनाबाट भएको जनधनको क्षति नेपालको इतिहासमै कल्पना गर्न नसकिने किसिमको भएको बताए। राणाशासन, पञ्चायतकाल तथा २०६२/०६३ को आन्दोलनका क्रममा समेत त्यस्तो भय र त्रासको अवस्था नरहेको उनको दाबी थियो।

नेकपा (एमाले) राजधानी प्रदेश कमिटीले आयोजना गरेको ‘संविधानको रक्षा, लोकतन्त्रको सुदृढीकरणमा संविधान निर्माता प्रमुख दलहरूको भूमिका र दायित्व’ विषयक कार्यक्रममा ओलीले संविधान र लोकतान्त्रिक व्यवस्थाको संरक्षणमा प्रमुख राजनीतिक दलहरूको भूमिका महत्वपूर्ण रहेको बताए।