
वर्ल्ड फोरम फर एथिक्स इन बिजनेस (डब्लुएफईबी) का अध्यक्ष डा. सञ्जय प्रधानले एआईले नेपालमा सिर्जना गर्ने अपार सम्भावना र त्यससँगै देखा परिरहेका चुनौतीबारे प्रकाश पारेका छन् ।
सोल्टी होटलमा बुधबार आयोजित ‘मानवताका लागि एआई : एआई युगका ठूला सामाजिक चुनौती’ विषयक कार्यक्रममा उनले एआईले राष्ट्रिय विकासलाई तीव्रता दिन, सुशासनलाई सुदृढ बनाउन तथा युवाहरूलाई सशक्त बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए । मानव मर्यादा, लोकतान्त्रिक मूल्य तथा मानवीय स्वायत्तताको संरक्षण गर्ने जिम्मेवार र नैतिक एआईको विकास तथा प्रयोगमा उनको विशेष जोड थियो।
एआईको भविष्य प्रविधिले होइन, त्यसलाई मार्गदर्शन गर्ने नैतिक नेतृत्व, विवेक र मूल्यले निर्धारण गर्ने गर्ने भन्दै डा प्रधानले नैतिकता र नवप्रवर्तन एकअर्काका प्रतिस्पर्धी नभई परिपूरक पक्ष भएको बताए ।
उनका अनुसार एआईले राष्ट्रिय विकास, सुशासन र युवा सशक्तीकरणमा महत्वपूर्ण योगदान पुर्याउन सक्छ। तर, प्रविधिगत प्रगतिसँगै नैतिकता र उत्तरदायित्वलाई समान रूपमा प्राथमिकता दिन आवश्यक छ।
“एआई मानवजातिका लागि अवसर बन्छ वा जोखिम, त्यो प्रविधिले होइन, हामीले त्यसलाई कस्तो मूल्य र नेतृत्वका साथ प्रयोग गर्छौं भन्ने कुराले निर्धारण गर्छ,” उनले भने। उनका अनुसार प्रविधिगत उत्कृष्टतासँगै नैतिक नेतृत्वलाई आत्मसात् गर्ने राष्ट्रहरू नै एआई युगमा दीर्घकालीन रूपमा सफल हुनेछन् ।
डा. प्रधानले सन् २०२६ मा हुने डब्लुएफईबीको ग्लोबल समिटपछि नेपालमा ‘नेसनल एआई फर ह्युम्यानिटी फोरम’ आयोजना गर्ने प्रस्ताव पनि राखे। सरकार, निजी क्षेत्र, शैक्षिक संस्था, नागरिक समाज र युवाबीच सहकार्यमार्फत समावेशी तथा नैतिक एआईको विकास गर्न यस्तो फोरम उपयोगी हुने उनले बताए।
कार्यक्रममा ‘एआई फर ह्युम्यानिटी’ की संयोजक तथा आर्ट अफ लिभिङ नेपालकी कर्पोरेट प्रोग्राम्स निर्देशक नीभा माथेमा प्रधानले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन्। भने आर्ट अफ लिभिङ नेपालका अध्यक्ष सिद्धेश्वर के. सिंहले डा. प्रधानलाई मायाको चिनो प्रदान गरी सम्मान गरेका थिए।