सोमबार, ९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार

खुकुरी प्रहारबाट श्रीमतीसहित चार घाइते,आरोपित नइन्द्रकुमार राई पक्राउ

सक्रिय न्युज · १६ मिनेट अगाडि प्रकाशित
खुकुरी प्रहारबाट श्रीमतीसहित चार घाइते,आरोपित नइन्द्रकुमार राई पक्राउ
खोटाङ, कात्तिक ९ :

हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारमा खुकुरी प्रहारबाट एउटै घरका चार जना गम्भीर घाइते भएका छन् ।

च्यास्मीटारस्थित जारबुङका ४३ वर्षीय नइन्द्रकुमार राईले ससुराली घर आहालेमा गएराति गरेको खुकुरी प्रहारबाट ४० वर्षीया श्रीमती अञ्जना राई, ६२ वर्षीया सासु सेवन्ता राई, २५ वर्षीया साली टेमिना राई र सालो नरेन्द्र राई घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक निराजन बस्नेतका अनुसार घाइते चारैजनाको हलेसी तुवाचुङ नगर आधारभूत अस्पताल दुर्छिममा उपचार भइरहेको छ ।

“घाइतेहरुमध्ये तीन जना (अञ्जना राई, सेवन्ता राई र टेमिना राई)को अवस्था गम्भीर छ । उनीहरुलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ पठाउने तयारी भइरहेको छ”, प्रहरी निरीक्षक बस्नेतले भने, “आरोपित नइन्द्रकुमार राईलाई गएराति नै नियन्त्रणमा लिएका छौँ । घटनाको विषयमा थप विवरण आउन बाँकी छ ।”

खुकुरी प्रहारका घटनामा श्रीमती अञ्जना, सासु  सेवन्ता र साली टेमिनाको टाउकोको पछाडिपट्टी र हात तथा सालो नरेन्द्रको दाहिने हातमा गहिरो चोट लागेको उपचारमा संलग्न स्वास्थ्यकर्मीले जानकारी दिए । घाइतेमध्ये सालो नरेन्द्रको अवस्था सामान्य रहेता पनि पीडकले सबैको सामूहिक हत्या गर्ने उद्देश्यले खुकुरी प्रहार गरेको पीडित परिवारको आरोप छ ।

रातको समयमा अन्दाधुन्द भएको खुकुरी प्रहारका घटनाको बारेमा करिब १५ मिनेटपछि प्रहरी चौकी च्यास्मीटारले खबर पाएलगत्तै घटनास्थल पुग्दा आरोपित नइन्द्रकुमार फरार भएकोमा खोजतलास गरेर उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । घरभित्र सुतिरहेको अवस्थामा मरनासन्न हुनेगरी अन्दाधुन्द खुकुरी प्रहार भएपछि रातभर गाउँ नै तनावग्रस्त भएको स्थानीयले बताएका छन् ।

पीडक राई नेपाली सेनामा कार्यरत रहेको र दसैँ मनाउन घर आएको अवस्थामा घटना भएको जनाइएको छ । श्रीमतीसँग घरायसी सामान्य विवादपछि अन्दाधुन्ध खुकुरी प्रहार गरेको स्थानीयले बताएका छन् ।

उक्त घटनाको अनुसन्धान गर्न टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश बुढाथोकीले जानकारी दिएका छन् । 
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार