
नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद चुलिँदै गएपछि पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिले पार्टी एकताका लागि दबाब अभियान सुरु गरेका छन्।
कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीको नेतृत्वमा बिहीबार गोकर्ण रिसोर्टमा बसेको बैठकले साउन १६ गते काठमाडौंमा कांग्रेसबाट निर्वाचित मेयर, उपमेयर, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र सदस्यहरूको राष्ट्रिय भेला गर्ने निर्णय गरेको हो।
बैठकले भोलि( शुक्रबार)देखि नै सभापति गगन थापासहित पार्टीका पदाधिकारी तथा असन्तुष्ट नेताहरूसँग भेट गरी एकताका लागि पहल गर्न आग्रह गर्ने निर्णय पनि गरेको छ। भेलामा मिलन बिन्दुको दस्तावेज समेत सार्वजनिक गर्ने तयारी भएको कागेश्वरीका मेयर कार्कीले बताए।
यस्तै गोकर्णेश्वरका मेयर दीपककुमार रिसालले यही साउन १६ गते राष्ट्रिय भेला गर्ने निर्णय भएको जानकारी दिँदै सभागृह वा प्रज्ञा–प्रतिष्ठानमध्ये एक ठाउँमा गरिने बताए।
दबाब अभियानको संयोजकमा नेपाल नगरपालिका संघका अध्यक्ष तथा नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुंगाना र सहसंयोजकमा गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष तथा हुप्सेकोट गाउँपालिकाका अध्यक्ष लक्ष्मी पाण्डेलाई जिम्मेवारी दिइएको छ।
संयोजक ढुंगानाले पार्टी विभाजन हुन नदिन र एकताबद्ध बनाउन देशभरका जनप्रतिनिधिलाई काठमाडौंमा भेला गर्न लागिएको बताए। “हामी कुनै समूहको पक्षमा होइनौँ, पार्टीलाई एकताबद्ध बनाउने उद्देश्यले यो अभियान अघि बढाएका हौँ,” उनले भने।
बैठकले सातै प्रदेशमा समन्वयात्मक छलफल गरी पार्टी एकतासम्बन्धी सुझाव संकलन गर्ने तथा आवश्यक परे मिलनबिन्दुसहितको दस्तावेज सार्वजनिक गर्ने तयारी पनि गरेको छ।
कांग्रेसका दुबै पक्ष आरोप-प्रत्यारोपमा उत्रिदै विभाजन उर्फ उन्मुख भएपछि जनप्रतिनिधिहरु एकताका लागि जुर्मुराएका हुन् । बैठकमा सातै प्रदेशबाट करिब २० जना मेयरको सहभागिता रहेको थियो।