धनगढी, साउन ८ :

धनगढीमा पुगेर सत्याग्रह थालेका प्राध्यापक डा. गोविन्द केसीलाई कृष्ण मन्दिर व्यवस्थापन समितिले धर्मशाला छाड्न पत्र थमाएको छ । धर्मशाला व्यवस्थापन समितिका अध्यक्ष मुक्तिनाथ पन्तले आज बिहान अनसनरत केसीलाई पत्र थमाएका हुन् । 

धार्मिक संस्थामा अनसन बस्न किन दिएको भनेर दबाब आउन थालेपछि पत्र काटेको उनले बताए । उहाँ बास बस्छु भनेर आएको र कुनै जानकारी बिना अनसन बसेको अध्यक्ष पन्तले बताए ।

व्यवस्थापन समितिले धर्मशाला छाड्न भनेपछि डा केसीले विकल्पबारे सहयोगीसँग छलफल गरेका छन् । केसी पूर्व जानकारी दिएरै धर्मशालामा अनसन बसेको भए पनि अहिले व्यवस्थापन समितिले ठाउँ छाड्न भनेकोमा आश्चर्य व्यक्त गरिएको छ । डा केसी विभिन्न पाँच बुँदे माग राख्दै बिहीबारदेखि अनिश्चितकालीन सत्याग्रहमा छन् ।