
राष्ट्रपति रामचन्द्र पौडेलले पुर्खाको त्याग, बलिदान, साहस र वीरताका कारण आज नेपालीले शिर उँचो बनाएर गौरवका साथ उभिन पाएको बताएका छन् ।
राष्ट्रिय विभूति भीमसेन थापाको २२५ औँ जन्मजयन्तीका अवसरमा शुक्रबार आयोजित पुरस्कार तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले इतिहासको असल पक्षको अनुसरण गर्न सके मात्र वर्तमानलाई न्याय गर्न सकिने बताए ।
वीर पुर्खाले राष्ट्र, राष्ट्रियता, राष्ट्रिय अखण्डता एवम् सार्वभौमसत्ताका लागि गरेको बलिदान र योगदान स्तुत्य रहेको बताउँदै राष्ट्रपति पौडेलले आपसी भाइचारा, मित्रता, सहिष्णुता र एकताको जगमा राष्ट्रिय एकतालाई मजबुत बनाउनुपर्नेमा जोड दिए। राष्ट्रप्रेमप्रतिको अगाध आस्था र प्रतिबद्धताबाट विचलित हुन नहुने उनको भनाइ छ ।
राष्ट्रपति पौडेलले भने, "एकताको बलमा नै मुलुकलाई समृद्ध बनाउँदै भावी पुस्तामा राष्ट्रप्रेमको भावधारा जागृत गरेर अघि बढ्नुपर्छ। हामी सबै मिलेर भ्रष्टाचार, विकृति र विसङ्गति अन्त्य गरी सुशासनका माध्यमबाट देश विकासको कामलाई तीव्र बनाउन जुटौँ। यही नै राष्ट्रिय विभूति भीमसेन थापासहित हाम्रा वीर पुर्खाप्रतिको सच्चा सम्मान हुनेछ।"
बहुआयामिक व्यक्तित्वका धनी भीमसेन थापा राष्ट्र, राष्ट्रियता र सार्वभौमसत्ताविरुद्ध कहिल्यै नझुकेको उल्लेख गर्दै उनले देशभक्ति नै थापाको मूलमन्त्र रहेको स्मरण गरे। अङ्ग्रेजसँगको युद्धमा ठुलो मूल्य चुकाउनुपरे पनि थापाकै राष्ट्रभक्तिको अडानका कारण नेपाल स्वतन्त्र रहन सकेको उनले बताए। थापालाई कुशल प्रशासकका रूपमा स्मरण गर्दै उनले आफ्नो शासनकालमा सामाजिक, आर्थिक, कानुनी तथा सैन्य आधुनिकीकरणका क्षेत्रमा गर्नुभएको सुधार प्रशंसनीय रहेको उल्लेख गरे।
त्यसअवसरमा राष्ट्रपति पौडेलले सीमाविद् बुद्धिनारायण श्रेष्ठलाई सम्मान गरे। श्रेष्ठलाई एकलाख एघार हजार एक सय एघार रुपैयाँसहित ताम्रपत्र र दोसल्ल ओढाएर सम्मान गरिएको थियो। सम्मानित व्यक्तित्व श्रेष्ठले आयोजक संस्था र राष्ट्रपति प्रति आभार व्यक्त गर्दै प्राप्त रकमले अर्को नयाँ खोज मुलुक पुस्तक तयार पार्न खर्च गर्ने बताए ।
कार्यक्रममा प्रा. डा रामप्रसाद दाहालले धन्यवाद ज्ञापन गर्दै प्रतिष्ठानको तर्फबाट संग्रहित भीमसेन थापासँ सम्बन्धित अभिलेख संग्रह रास्ट्रपतिलाई हस्तान्तरण गरिएको थियो ।