
सरकारले आइतबारको सार्वजनिक बिदा फिर्ता नहुने स्पष्ट गर्दै निजी क्षेत्रमा समेत साप्ताहिक दुईदिने बिदा कार्यान्वयनका लागि पहल गर्ने जनाएको छ।
सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा खेलकुदमन्त्री सस्मित पोखरेलले आइतबारको बिदाबारे विभिन्न असन्तुष्टि आए पनि दीर्घकालीन लाभलाई ध्यानमा राखेर निर्णय गरिएको बताए। उनका अनुसार प्रारम्भिक रूपमा केही असहजता देखिए पनि समयसँगै यसको सकारात्मक प्रभाव देखिनेछ।
मन्त्री पोखरेलले अन्तर्राष्ट्रिय अभ्यासमा साप्ताहिक दुई दिनको बिदाले कर्मचारीको कार्यसम्पादन, उत्पादकत्व र मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पारेको उल्लेख गर्दै नेपालमा पनि त्यही अभ्यास लागू गर्न खोजिएको बताए।
उनले हाल सरकारी निकाय, बैंक तथा वित्तीय संस्था तथा केही कर्पोरेट क्षेत्रमा आइतबारको बिदा कार्यान्वयन भइसकेको उल्लेख गर्दै निजी क्षेत्रमा पनि यही व्यवस्था लागू गर्न सरकारको तर्फबाट अनुरोध र समन्वय गरिने जानकारी दिए।