
नगरवासीको स्वास्थ्य सेवालाई सहज र निःशुल्क बनाउने अभियान जारी राखेको गोकर्णेश्वर नगरपालिकाले वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइराला अध्यक्ष रहेको काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ अस्पतालसँग पनि स्वास्थ्य सेवा सम्झौता गरेको छ।
बुधबार भएको सम्झौताअनुसार गोकर्णेश्वर नगरपालिकाका स्थायी बासिन्दाका बालबालिकाले उक्त अस्पतालमा उपचार गराउँदा प्रतिव्यक्ति १ लाख रुपैयाँसम्मको उपचार सेवा निःशुल्क प्राप्त गर्नेछन्। सम्झौतापत्रमा अस्पतालका अध्यक्ष डा. भगवान कोइराला र नगरपालिकाका प्रमुख दीपककुमार रिसालले हस्ताक्षर गरेका छन्।
सम्झौतापछि बोल्दै डा. कोइरालाले आर्थिक अभावका कारण नगरवासीका बालबालिका उपचारबाट वञ्चित हुन नपरोस् भन्ने गोकर्णेश्वर नगरपालिकाको उदेश्य अनुरुप सहकार्य सुरु गरिएको बताए। उनले संघीय सरकारसँग गर्न खोजिएको कार्यक्रमको सुरुआत स्थानीय तहबाट हुनु सकारात्मक भएको उल्लेख गर्दै गोकर्णेश्वर नगरपालिकाप्रति आभार व्यक्त गरे।
नगरप्रमुख रिसालले नगरवासीले आफ्नो आम्दानीको ठूलो हिस्सा स्वास्थ्य र शिक्षामा खर्च गर्नुपर्ने अवस्थालाई अन्त्य गर्ने लक्ष्यसहित नगरपालिका अघि बढिरहेको बताए। उनका अनुसार नगरपालिकाले हालसम्म १३ वटा अस्पतालसँग स्वास्थ्य सेवा सम्झौता गरिसकेको छ भने बालबालिकाको उपचारका लागि काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थसँग गरिएको यो पहिलो सम्झौता हो।
बालबालिकाको समग्र उपचार एउटै छानामुनि उपलब्ध गराउने अस्पतालको आवश्यकता महसुस भएपछि अस्पतालसँग प्रस्ताव गरिएको र तत्काल सकारात्मक प्रतिक्रिया पाएपछि सम्झौता सम्पन्न भएको उनले जानकारी दिए। यस अस्पतालमा बालबालिकाका विभिन्न रोगहरूको विशेषज्ञ उपचार उपलब्ध हुने भएकाले थप उपचारका लागि भारतलगायत विदेश जानुपर्ने बाध्यता कम हुने विश्वास नगरप्रमुखको छ।
नगरप्रमुख रिसालले नगरपालिका सेवा लिने मात्र नभई आवश्यक पर्दा अस्पताललाई पनि आवश्यक सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे।
उपप्रमुख सान्नानी लामाले नगरवासीका बालबालिकाको गुणस्तरीय तथा सहुलियतपूर्ण उपचार सुनिश्चित गर्न अस्पतालसँगको सहकार्य दुवै पक्षका लागि लाभदायी हुने बताइन्। उनले मुटुरोग मात्र नभई बालबालिकासम्बन्धी सम्पूर्ण स्वास्थ्य सेवामा नागरिकले स्वदेशमै सहज पहुँच पाउने विश्वास व्यक्त गरिन्।
सम्झौतापछि नगरपालिकाको टोलीले अस्पतालको निरीक्षण गर्नुका साथै उपचार सेवा, प्रविधि तथा व्यवस्थापनबारे जानकारी लिएको थियो। निरीक्षण टोलीमा नगरप्रमुख रिसाल, उपप्रमुख लामा, स्वास्थ्य शाखाका प्रमुख तथा सम्बन्धित कर्मचारीहरूको सहभागिता रहेको थियो।