
सरकार र अनशनरत प्रा. डा. गोविन्द केसी पक्षधरबीच धनगढीमा वार्ता सुरु भएको छ। डा. केसीको अनशन अन्त्य गराउने प्रयासस्वरूप सरकारले वार्ताको पहल गरेको हो ।
सरकारको वार्ता टोलीमा प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. जगदीश अग्रवाल, स्वास्थ्य सचिव डा. विकास देवकोटा तथा शिक्षा सचिव चूडामणि पौडेल सहभागी छन्। डा. केसीको तर्फबाट डा. अमृत जैसी र पवन थापा वार्तामा सहभागी भएका छन्।
चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारसम्बन्धी विगतका सम्झौता कार्यान्वयन तथा आफ्ना मागप्रति सरकारले बेवास्ता गरेको आरोप लगाउँदै डा. केसीले बिहीबारदेखि कैलालीको धनगढीमा २४औँ सत्याग्रह सुरु गरेका हुन्।
सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपति र रजिस्ट्रारको नियुक्त खारेज गर्न माग राख्दै प्रा.डा. केसी सत्याग्रहमा बसेका हुन्। उपकुलपति र रजिस्ट्रारको निजी कलेजका सञ्चालकसँग नजिकको सम्बन्ध र साँठगाँठ रहेको उनको आरोप थियो ।
सरकारले गत असार ३१ मा प्राडा सुनिलकुमार जोशीलाई दशरथचन्द विश्वविद्यालयको उपकुलपति तथा डा. भीमबहादुर चन्दलाई रजिस्ट्रार नियुक्त गरेको थियो।