भक्तपुर, साउन ११ :

भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं–८ सिपाडोल स्थित प्रसिद्ध डोलेश्वर महादेव मन्दिरमा भक्तजनको घुँइचो लागेको छ । 

श्रावण महिनाभर एक महिने मेलासंगै सोमबार डोलेश्वर महादेव मन्दिरमा भक्तजनको घुँइचो लागेको हो । दर्शनार्थीको आगमनले डोलेश्वर महादेव मन्दिर परिसर भरिभराउ भएको छ । मेलाका लागि समितिले सुरक्षा व्यवस्थाका साथै मन्दिर दर्शनका लागि आउने स्वदेशी तथा विदेशी भक्तजनहरूको सहजताका लागि विशेष व्यवस्था गरेको छ ।

साउन महिना विशेष गरी भगवान शिवको प्रिय महिना भएकाले केदारनाथको शिरभाग डोलेश्वर महादेवको दर्शन गर्न आउने भक्तजनको घुईचो लाग्ने गरेको डोलेश्वर महादेव मन्दिरका मूल पूजारी बच्चुराम जंगमले बताए। 

डोलेश्वर महादेव मन्दिरलाई विक्रम संवत् २०६६ साल भदौ ६ गते केदारनाथको शिर घोषणा गरिएको थियो । श्रावण महिनाभर एक महिने मेलाको भाद्र ६ गते विशेष कार्यक्रम आयोजना गरी समापन गरिने मेला आयोजक समितिले जनाएको छ ।