काठमाडौं, साउन ११ :

नेकपा एमालेसँग तीन बुँदे सहमति गरेपछि असन्तुष्ट बनेका नेकपाका सहसंयोजक माधव कुमार नेपाललाई भेट्न संयोजक प्रचण्ड कोटेश्व पुगेका छन् । ३ बुँदे समझदारीप्रति केही असन्तुष्ट देखिएका नेता नेपाललाई फकाउने उद्देश्यले प्रचण्ड उनको निवास कोटेश्वर पुगेका हुन् ।

प्रदेशमा मिलिजुली सरकार गठन गर्न संयोजक प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच समझदारी भएको थियो । नेपाली सरकारले मिलिजुली सरकारमा सहभागी हुने भन्दै बाहिरिएपछि पाँच  प्रदेशमा सरकार गठन गर्ने र शक्ति बाँडफाँट गर्ने गरी दुई बामपन्थी दलबीच समझदारी भएको हो ।

उक्त सहमति 'सत्ता केन्द्रित' मात्र भएको र नीतिगत स्पष्टता नभएको भन्दै नेता नेपालले असन्तुष्टि व्यक्त गर्दै आएका छन् । प्रचण्डले नेता नेपालको असन्तुष्टि मेट्ने प्रयास गरेको निकटस्थ एक नेताले बताएका छन् । 

सहमति अनुसार नेकपा एमालेले कोशी, बागमती र लुम्बिनी प्रदेशमा मुख्यमन्त्री लिने र नेकपाले कर्णाली र सुदूरपश्चिममा मुख्यमन्त्री लिने उल्लेख छ ।सत्ता बाहिर एकछिन पनि बस्न नसक्ने भन्दै नेकपा र एमालेकै नेता कार्यकर्ताले समेत उक्त समझदारीको विरोध गर्दै आएका छन् ।