
नेपाली कांग्रेसले सुनसरीको घटनाप्रति सरकारको भूमिका गैरजिम्मेवार र उदासीन रहेको आरोप लगाएको छ। कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संवेदनशील विषयमा सरकार प्रभावकारी रूपमा प्रस्तुत हुन नसकेको टिप्पणी गरेका हुन्।
सुनसरी घटनाका सम्बन्धमा बुधबार आयोजित सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता आङदेम्बेले बैठकमा प्रधानमन्त्री र गृहमन्त्रीको अनुपस्थितिमाथि प्रश्न उठाए। उनले यस्तो गम्भीर विषयमा सरकारको नेतृत्व नै अनुपस्थित हुनु गैरजिम्मेवारीको उदाहरण भएको बताए।
उनले राष्ट्रपति र प्रधानमन्त्रीबीच आवश्यक संवाद तथा समन्वयको अभावले राज्य सञ्चालनमा गम्भीर कमजोरी देखिएको उल्लेख गर्दै राष्ट्रिय महत्वका विषयमा सम्बन्धित निकायसँग समन्वय गरेर समाधान खोज्नुको सट्टा सरकार हिचकिचाइरहेको आरोप लगाए।
नेता आङदेम्बेले सरकारले सामाजिक सञ्जालमा प्रतिक्रिया जनाउनेबाहेक व्यवहारिक रूपमा कुनै प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको दाबी गरे। उनले तराई–मधेसमा क्रियाशील सामाजिक समूह, धार्मिक अगुवा तथा अन्य सरोकारवालासँग प्रत्यक्ष छलफल गरी सामाजिक सद्भाव कायम राख्ने पहल कांग्रेसले अघि बढाउने बताए। उत्पन्न समस्याको दीर्घकालीन समाधानका लागि राजनीतिक दलसँगै गैरराजनीतिक सरोकारवालासँग पनि सहकार्य गरिने उनको भनाइ थियो।
सर्वदलीय बैठकमा सहभागी राजनीतिक दलहरूले सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न संयुक्त पहल गर्ने निर्णय गरेका छन्। सरकारको प्रतीक्षा नगरी दलहरू स्वयं प्रभावित क्षेत्रमा पुगेर शान्ति स्थापनाका लागि आह्वान गर्ने सहमति भएको नेता आङदेम्बेले जानकारी दिए।