काठमाडौं, साउन १४ :

प्रतिनिधिसभाको बैठक जारी छ । 

आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सुनसरीको कप्तानगञ्जमा भएको हिंसात्मक घटनालाई लिएर सरकारको कडा आलोचना गरेको छ ।

प्रतिनिधिसभाको आजको  बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेसकी प्रमुख सचेतक वासना थापाले उक्त घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने माग गरेकी हुन् ।

प्रमुख सचेतक थापाले सुनसरीको कप्तानगञ्जमा भएको घटनामा ओमप्रकाश गुप्ताको मृत्यु भएको र दर्जनौँ नागरिक घाइते भएको विषयमा सदनको ध्यानाकर्षण गराउदै उनले शान्ति सुरक्षा कायम गर्न सरकार पूर्ण रूपमा असफल भएको आरोप लगाइन् ।

सरकारको नेतृत्व र कार्यशैलीप्रति प्रश्न उठाउँदै उनले प्रधानमन्त्री र गृहमन्त्रीको मौनतामाथि कडा टिप्पणी गरिन् ।

यति गम्भीर विषयमा प्रधानमन्त्री मौन हुनुहुन्छ । कुरा–कुरामा आँसु झार्ने गृहमन्त्री पनि आज मौन बस्नु आश्चर्यजनक छ । नेतृत्व भनेको केवल प्रशासन चलाउनका लागि मात्र होइन, नागरिकको जीउधनको रक्षाका लागि पनि हो,’ थापाले भनिन् ।

प्रमुख सचेतक थापाले घटनाको सत्य तथ्य छानबिन गरी दोषीलाई तत्काल कानुनी दायरामा ल्याउन र पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरिन् ।

यसैगरी नेकपा एमालेले नेकपा एमालेले  पनि सुनसरी घटनामा प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङको राजीनामा माग गरेको छ ।

आजको बैठकमा सांसद पद्मा अर्यालले सुनसरी घटनाको नैतिक जिम्मेवारी लिँदै प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिनुपर्ने बताएकी हुन् ।