काठमाडौं, साउन १४ :

श्रम संस्कृति पार्टीका सांसद आरेन राईले राष्ट्रियताको विषयमा प्रधानमन्त्रीले जिद्दी गर्न नमिल्ने बताएका छन्।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद राईले प्रधानमन्त्री बालेन्द्र शाहले गत जेठ १७ गते राष्ट्रियतासम्बन्धी दिएको अभिव्यक्ति नसच्याई अडान लिइरहेको भन्दै त्यसप्रति आपत्ति जनाए। उनले प्रधानमन्त्रीलाई राष्ट्रियताको विषयमा जिद्दी नगर्न आग्रह गर्दै उक्त अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गरे।

‘अरू विषयमा जिद्दी गरे पनि राष्ट्रियताको विषयमा प्रधानमन्त्रीले जिद्दी गर्न मिल्दैन,’ उनले भने, ‘प्रधानमन्त्रीले संसद्मा दिएका अभिव्यक्ति रेकर्डबाट हटाइयोस्। मैले यो माग दुईपटक गरिसकेको छु, फेरि दोहोर्‍याउन नपरोस्।’

सांसद राईले मुलुकमा देखिएका विभिन्न संकटका बेला सरकारको भूमिका प्रभावकारी हुन नसकेको पनि टिप्पणी गरे। दूरबिन लगाएर देश ठीक छ भन्न नमिल्ने उल्लेख गर्दै उनले सरकार अन्धकारबाट बाहिर निस्केर वास्तविक अवस्था बुझ्नुपर्ने बताए।

सरकार बेखबर भएको भन्दैमा अरू पनि भ्रममा पर्न नहुने उल्लेख गर्दै उनले सबै नेपालीलाई संयमित भएर अगाडि बढ्न आग्रह गरे।

उनले देशमा हिंसात्मक गतिविधि बढ्ने संकेत देखिँदा समेत सरकार बेखबर रहेको आरोप लगाए। ‘देशमा हिंसात्मक द्वन्द्व हुने अवस्था हुँदा पनि सरकार अन्धकारमा बसेर दूरबिन लगाएर देश हेरिरहेको छ,’ राईले भने।