
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले कोसी र मधेस प्रदेशबाट प्रतिनिधित्व गर्ने पार्टीका सांसदहरूलाई आ–आफ्नो जिल्ला तथा निर्वाचन क्षेत्रमा फर्किएर सामाजिक सद्भाव कायम गर्ने अभियानमा सक्रिय हुन निर्देशन दिएका छन्।
बिहीबार सिंहदरबारमा आकस्मिक रूपमा बोलाइएको बैठकमा सभापति लामिछानेले सुनसरी घटनापछि विकसित परिस्थितिबारे सांसदहरूलाई जानकारी गराउँदै स्थानीय तहमा समन्वयकारी भूमिका निर्वाह गर्न आग्रह गरेका हुन्।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै रास्वपा सांसद रहवर अन्सारीले सभापति लामिछानेले सांसदहरूलाई काठमाडौंमा बसेर मात्र नभई आफ्नो जिल्ला र क्षेत्रमा पुगेर सामाजिक सद्भावको सन्देश फैलाउन निर्देशन दिएको बताए।
‘यो घटनाको अपनत्व लिएर पार्टीका सबै सांसदहरू यहाँ बसेर होइन, आ–आफ्नो क्षेत्रमा, जिल्लामा गएर कसरी समन्वयकारी भूमिका निर्वाह गर्न सकिन्छ, त्यो गर्नुस् भन्ने निर्देशन दिनुभएको छ,’ अन्सारीले भने। उनका अनुसार समाजमा द्वेष फैलाउने वा सामाजिक सद्भाव भड्काउने कुनै पनि प्रयास भए त्यसलाई मत्थर पार्न सांसदहरूले सक्रिय भूमिका खेल्नुपर्नेमा सभापति लामिछानेले जोड दिएका छन्।
अन्सारीले अब पार्टीका सांसदहरू आफ्नो जिल्ला तथा निर्वाचन क्षेत्रमा फर्किएर स्थानीय प्रशासन र राज्यका सम्बन्धित निकायसँग समन्वय गर्दै सामाजिक सद्भाव कायम राख्न आवश्यक पहल गर्ने जानकारी दिए।
उनले सुनसरीमा गोली चल्नु र त्यसबाट ज्यान जानु दुःखद् घटना भएको उल्लेख गर्दै यस्ता घटनाले सामाजिक सद्भावमा असर पर्न नदिन सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताए।