काठमाडौं, साउन १५ :

मधेस केन्द्रित राजनीतिक दलका नेताहरूले प्रधानमन्त्री वालेन्द्र शाहसँगको छलफल  सकारात्मक भएको बताएका छन् ।  

आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्री शाहसँगको छलफलपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनीहरूले यसप्रकारको पहलले समस्या समाधानमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । उनीहरूले पछिल्लो समय तराईका केही जिल्लामा देखिएका समस्या समाधानका लागि आफूहरूले सुझाव दिएको र उक्त समस्या समस्यामा प्रधानमन्त्री संवेदनशील र प्रतिबद्ध भएको आफूले पाएको बताए ।

छलफलपछि जनमत पार्टीका अध्यक्ष डा सिके राउतले भने, “प्रधानमन्त्रीज्यूले पहिलो पटक मधेश केन्द्रित राजनीतिक दलसँग छलफल गर्नुभएको हो, छलफल धेरै नै सकारात्मक कदम भएको हाम्रो निष्कर्ष छ, हामीले पनि तराईका केही जिल्लामा देखिएको समस्या समाधानका लागि सुझाव दिएका छौँ ।”

अध्यक्ष राउतले आफूले पछिल्लो समय तराईका केही जिल्लामा देखिएका समस्या नयाँ नभएको उल्लेख गर्दै यसको दीर्घकालीन समस्या समाधानका लागि प्रधानमन्त्रीलाई आग्रह गरिएको बताए । उनले भने, “अहिले देखिएको समस्या नयाँ होइन, समस्या समाधानका लागि र्‍यापिड एक्सन टिम गठन गर्नका लागि सुझाव दिएका छौँ, त्यसबाहेक नियमित ब्रिफिङ, सुरक्षा जनशक्तिको क्षमता अभिवृद्धी तथा समुदायस्तरमा नियमनका लागि पनि आग्रह गरेका छौँ ।”

मुस्लिम आयोगका संस्थापक अध्यक्ष समिर मियाँ अन्सारीले व्यक्तिगत झगडा साम्प्रदायिक तहसम्म पुग्नु मुलुकका लागि घातक भएको उल्लेख गरे । उनले भने, “यस विषयमा प्रधानमन्त्रीज्यूसँग घनिभूत छलफल भयो, घटनाका दोषीलाई कारबाही गर्न र अवस्था सामान्य पार्नका लागि हामीले केही सुझाव दिएका छौँ ।”

राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले विगतका सरकारले मधेससँग गरेका सम्झौता कार्यान्वयन गर्न पनि सुझाव दिएको बताए । उनले मधेसमा देखिएको समस्या समाधानका लागि सरकारको सक्रियता अझ बढाउन पनि प्रधानमन्त्रीसँग आग्रह गरेको उल्लेख गरे । सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न र समयमै समस्या समाधानका लागि आग्रह गरिएको बताए ।

छलफलमा डा सीके राउत, महन्थ ठाकुर, राजेन्द्र महतो, लालबाबु राउत, समिम मियाँ अन्सारी, राम के शर्मा, प्रभु शाह, अमरेशकुमार सिंह, शरतसिंह भण्डारी, जयकान्त राउत लगायतका नेता सहभागी थिए ।