काठमाडौं, साउन १५ :

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले देशका विभिन्न स्थानमा घटेको घटनाहरूको संवेदनशीलता बुझ्न र सही तरिकाले समाधान गर्न सरकार चुकेको आरोप लगाएका छन् ।

एमाले काठमाडौं महानगर कमिटीले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा महासचिव पोखरेलले वर्तमान सरकार र गृह प्रशासनले पछिल्ला घटनाहरूको संवेदनशीलता बुझ्न र तिनलाई सही तरिकाले समाधान गर्न नसकेको आरोप लगाए।

उनले राजनीतिक दलहरुको सहयोग माग्नुपर्ने विषयमा सरकार र सरकारका मन्त्रीहरु चाहिँ गम्भीर रुपमा उदासिन देखिएको बताए । त्यस्तै उनले अघिल्लो सरकारले गरेका नियुक्तिहरू अध्यादेशमार्फत खारेज गरेर नयाँ सरकारले आफ्ना समर्थक र तुलनात्मक रूपमा कमजोर व्यक्तिहरूलाई भर्ती गरिरहेको भन्दै आलोचना गरे ।

विगतका कमीकमजोरीबाट शिक्षा लिएर अब एमालेलाई देशको बलियो र जनताको रोजाइको पार्टी बनाउने उनको भनाइ छ ।

महासचिव पोखरेलले जनताको बहुदलीय जनवादको विशेषतासहितको रूप पक्षमा मात्र नभई अब सार पक्षमा जोड दिएर समाजवाद निर्माणतर्फ अघि बढ्नुपर्ने आवश्यकता रहेको धारणा राखे ।