अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडकखण्डमा सवारी आवागमन प्रभावित भएको छ ।
नेपाल प्रहरीले आज बिहान ५ बजेसम्मको विवरण सार्वजनिक गर्दै केही सडक पूर्ण रूपमा अवरुद्ध भएका र केही सडकमा राति सवारीसाधन सञ्चालनमा प्रतिबन्ध लगाइएको जनाएको छ ।
काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बिपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गरी बेलुका ६ देखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।
यसैगरी, कान्तिलोकपथमा पनि बेलुका ५ देखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।
इलाम नगरपालिका–९ मेची राजमार्गमा वर्षाका कारण सडक हिलाम्मे भएपछि सवारी आवागमन पूर्ण रूपमा बन्द भएको छ ।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित अरनिको राजमार्गका जिरोकिलो र कोदारी क्षेत्रमा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।
दोलखाको तामाकोशी गाउँपालिका–५ किर्नेटारस्थित लामासाँघु–रामेछाप सडकखण्डमा सामाकोशी खोलाको बहावले सडक कटान गरेपछि उक्त सडक पनि अवरुद्ध भएको छ ।
रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेस्थित पासाङ ल्हामु सडकखण्डमा त्रिशूली नदीले कटान गरेकाले उक्त सडक पनि पूर्ण रूपमा अवरुद्ध भएको छ ।
प्रहरीले वर्षायाममा पहिरो, बाढी तथा सडक कटानको जोखिम उच्च रहेकाले यात्रा गर्नुअघि सम्बन्धित निकायबाट सडकको अवस्थाबारे जानकारी लिन तथा आवश्यक सतर्कता अपनाउन सबैलाई अनुरोध गरेको छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
गगन थापा भन्छन् : कांग्रेसको आधिकारिकताको लडाइँमा एक सुका पनि आर्थिक लेनदेन भएको छैन
इनम सापकोटाको मोबाइल दुई दिनसम्म प्रधानमन्त्रीको सल्लाहकारको निवासमा कसरी पुग्यो?
प्रधानमन्त्रीलाई सुरक्षा प्रमुखबाट ‘ब्रिफिङ’: नागरिकको सुरक्षामा कमजोरी नगर्न निर्देशन