काठमाडौँ, साउन १८:संसद्को सार्वजनिक लेखा समितिले नेपाल विद्युत् प्राधिकरणसँग टाइम्स अफ डे (टिओडी) मिटरको तथ्याङ्क माग गरेको छ ।

समितिको आजको बैठकले उक्त विवरण माग गर्ने निर्णय गरेको सभापति ऋषिकेश पोखरेलले जानकारी दिनुभयो । समितिको आजको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव, विद्युत् नियमन आयोगका पदाधिकारी, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक र उद्योगी तथा व्यवसायीसँग छलफल गरेको थियो ।
 
ट्रंक लाइन र डेडिकेटेट विद्युत् लाइन बापत उद्योगीहरूबाट असुल गर्नुपर्ने झन्डै २२ अर्ब रुपैयाँ विद्युत् महसुलको विषयमा विद्युत् प्राधिकरण, उद्योगी व्यवसायी र सांसदहरूबिच छलफलको क्रममा चर्काचर्की समेत परेको थियो । 

आजको भएको लामो छलफल पछि समितिले आवश्यक विवरण माग गरेको हो ।साथै सांसदहरुसँग भएका  प्रमाणसहितको विवरण र आफ्ना कुरा ५ दिन भित्र समितिमा पेस गर्ने निर्णय भएको छ । अर्को बैठकमा प्राधिकरणले दिएको विवरण अध्ययन गर्ने र सांसदहरूको धारणा अध्ययन गरी आवश्यक निर्देशन दिने समितिका सभापति पोखरेलले बताउनुभयो ।

समितिले डेडिकेटेड र ट्रक लाइन महशुलको विवादका सम्बन्धमा केही दिनभित्र आवश्यक निर्णय गर्ने समेत जनाएको छ ।