
देशका विभिन्न स्थानमा खाना पकाउने एलपीजी ग्यासको अभाव देखिन थालेपछि राजधानी काठमाडौंसहित विभिन्न जिल्लाका ग्यास डिपोमा उपभोक्ताको भिड बढेको छ। नेपाल आयल निगमले साउनदेखि १४.२ केजीका भरि सिलिन्डर वितरण सुरु गरेसँगै आपूर्ति प्रणाली प्रभावित भएको जनाएको छ।
यसअघि निगमले ७.१ केजीका आधा सिलिन्डर बिक्री–वितरण गर्दै आएको थियो। भरि सिलिन्डर वितरण सुरु भएपछि माग एक्कासि बढ्दा आपूर्ति शृङ्खला खलबलिएको निगमको भनाइ छ।
ग्यास अभावलाई मध्यनजर गर्दै निगमले टेकुस्थित कार्यालयबाट नेपाल ग्यास, एचपी ग्यास, एभरेस्ट ग्यास, सुगम ग्यास र श्रीराम ग्यासका सिलिन्डर सम्बन्धित उद्योगमार्फत बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म बिक्री–वितरण गर्ने व्यवस्था मिलाएको जनाएको छ।
टेकुस्थित निगम कार्यालय पुगेका उपभोक्ताले भने लामो समय लाइनमा बस्दा पनि ग्यास नपाएको गुनासो गरेका छन्। उनीहरूले डिलरहरूले बजारमा अभावको हल्ला फैलाएर कृत्रिम संकट सिर्जना गरेको आरोप लगाउँदै सरकारले प्रभावकारी अनुगमन गरी ग्यास आपूर्ति सहज बनाउनुपर्ने माग गरेका छन्।