
काठमाडौं, साउन १७ :
इन्डोनेसियामा कम्तीमा २५० जना यात्रु बोकेको एक फेरी समुद्रमै आगलागी हुँदा पाँच जनाको मृत्यु भएको छ भने ४१ जना अझै बेपत्ता रहेको अधिकारीहरूले बताएका छन्।
राष्ट्रिय खोज तथा उद्धार निकाय बासार्नासका अनुसार पूर्वी जाभाको दोस्रो ठूलो सहर सुराबायाबाट दक्षिण सुलावेसीको माकासारतर्फ जाँदै गरेको केएमपी मुटियारा सेन्टोसा–२ नामक फेरीमा मदुरा टापुनजिक आगलागी भएको थियो। जहाजका कप्तानले समुद्रमै आगलागी भएको जानकारी दिएका थिए।
बासार्नासले आफ्नो टिकटक मार्फत सार्वजनिक गरेको जानकारीअनुसार स्थानीय समयअनुसार बिहान ८:२४ बजे सुराबाया खोज तथा उद्धार कार्यालयले केएमपी मुटियारा सेन्टोसा–२ मा आगलागी भएको सूचना प्राप्त गरेको थियो।
फेरीमा आगलागी कसरी भयो भन्ने कारण भने अझै खुल्न सकेको छैन।