
नर्स तथा मिडवाइफहरूको न्यूनतम पारिश्रमिक निर्धारण, श्रम शोषण अन्त्यलगायत माग राख्दै आमरण अनशनमा रहेकी नर्स ज्योति रानाभाट र सरकारका प्रतिनिधिबीच वार्ता सुरु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भइरहेको वार्तामा सरकारका तर्फबाट मन्त्रालयका सचिव डा. विकास देवकोटाले नेतृत्व गरेका छन्। रानाभाटको तर्फबाट नर्स कल्पना रिजाल, कविता सिटौला तथा अधिवक्ता इन्द्रप्रसाद अर्याल सहभागी छन्।
रानाभाटले नर्स तथा मिडवाइफहरूको सेवा–सुविधा, न्यूनतम पारिश्रमिक सुनिश्चित गर्नुपर्ने, श्रम शोषण अन्त्य गर्नुपर्ने लगायतका १५ बुँदे माग राख्दै पाँचौ दिनदेखि आमरण अनशनमा छिन्। उनका माग सम्बोधन गर्ने विषयमा दुवै पक्षबीच छलफल जारी रहेको मन्त्रालयले जनाएको छ।
रानाभाटले स्वास्थ्य, शिक्षा, श्रम र अर्थ मन्त्रालयका प्रतिनिधि सहभागी हुने वार्ताको माग गर्दै आएकी थिइन् ।