
इन्टर्न चिकित्सकको स्टाइपेन्डसम्बन्धी माग अझै सम्बोधन नभएको भन्दै ‘एमबीबीएस–बीडीएस स्टाइपेन्ड एकरूपता अभियान नेपाल’का संयोजक डिल्ली हरिजनले मंगलबारदेखि काठमाडौंको माइतीघर मण्डलामा आमरण अनशन सुरु गरेका छन्।
हरिजनले मंगलबार बिहान १०:२५ बजेदेखि आमरण अनशनमा बसेको घोषणा गरेका हुन्। सरकारले पटक–पटक ध्यानाकर्षण गराउँदा पनि माग सम्बोधन नगरेपछि बाध्य भएर आमरण अनशनको बाटो रोज्नुपरेको उनले बताएका छन्।
अनशन सुरु गर्दै हरिजनले जारी गरेको वक्तव्यमा विगत चार महिनादेखि आफूहरूले संयमता, धैर्यता र जिम्मेवारीका साथ सम्बन्धित मन्त्रालय, चिकित्सा शिक्षा आयोग, सांसद तथा अन्य सरोकारवाला निकायसमक्ष आफ्ना न्यायोचित माग राख्दै आएको उल्लेख गरेका छन्।
हरिजनले आमरण अनशन व्यक्तिगत स्वार्थ वा रहरका कारण नभई राज्य संयन्त्रको ढिलासुस्ती र गैरजिम्मेवारीका कारण बाध्यात्मक रूपमा सुरु गर्नुपरेको बताएका छन्।
उनले समयमै निर्णय गर्न नसक्नु सरकारको कमजोरी भएको उल्लेख गर्दै इन्टर्न चिकित्सकको स्टाइपेन्डसम्बन्धी माग तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गरेका छन्।