मकवानपुर, साउन २० :

त्रिभुवन राजमार्गअन्तर्गत मकवानपुरको भिमफेदी गाउँपालिका वडा नं. २ तिलटारमा आज बिहान तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ट्रकका चालक घाइते भएका छन् ।

ट्रक सडकबाट एक सय मिटर तल चिण्डीखोलामा खस्दा ट्रकमा सवार राक्सीराङ गाउपालिका ९ का ३६ वर्षीय अर्जुन कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । ट्रकका चालक रंजित कार्कीको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।

पालुङबाट वीरगञ्जतर्फ तरकारी बोकेर जाँदै गरेको मधेश प्रदेश ०३–००२ ख ५०९५ नम्बरको ट्रक बिहान २:३० बजे ओरालो सडकमा चिप्लिएर अनियन्त्रित हुँदा दुर्घटनामा भएको हो । दुर्घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।