
गृहमन्त्री सुधन गुरुङले जेनजी आन्दोलनको भावना अनुसार सरकार अघि बढिरहेको बताएका छन् ।
काठमाडौंको बबरमहलमा रहेको घाइते जेनजी नेपाल केन्द्रीय कार्यालयको शुभारम्भ कार्यक्रममा मन्त्री गुरुङले जेनजी आन्दोलनको जगमा वर्तमान सरकार गठन भएकाले त्यसै अनुसार सरकार अघि बढिरहेको बताए।
उनले आफूलाई जेनजी युवाको विचार र परिवर्तनको आशाको प्रतिनिधि मान्दै उनीहरूको इज्जत र विश्वास जोगाउनु आफ्नो मुख्य कर्तव्य रहेको उल्लेख गरे । नेपालीहरूको शिर कहिल्यै नझुक्ने र भविष्यमा पनि नझुक्ने उनले बताए ।
उनले सदनमा भाषण गर्नभन्दा पनि जनताका समस्या सुन्नु, नीति–योजना बनाएर प्रत्यक्ष काम गर्नु आफ्नो प्राथमिकता रहेको स्पष्ट पारे । आफूले मन्त्रालय सम्हालेको चार महिनासम्म पनि राम्रोसँग काम गर्न नपाएको उनले बताए ।
जेनजी नेपाल केन्द्रीय कार्यालयको उद्घाटन भने जेनजी आन्दोलनका शहीद श्रीयम चौलागाईंका बुवा गणेश चौलागाईं र पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले गरेका थिए ।