ललितपुर, साउन २५ :

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ ।

बैठक  अपराह्न १ बजे बस्नेछ ।  

ललितपुरको सानेपास्थित बीपी स्मृति भवनमा हिजोबाट सुरु भएको बैठकमा सबै विषय टुंगिन नसकेपछि आजका लागि पुनः तय गरिएको हो।

आइतबार बसेको बैठकमा पार्टीको १५औँ महाधिवेशनको तयारी, सरकारका गतिविधि र प्रदेश सरकारमा विकसित राजनीतिक परिस्थिति सम्मका विषयमा छलफल सुरु भएको थियो ।

पार्टी सभापति गगनकुमार थापाको सभापतित्वमा बसेको बैठकमा हिजो सभापति थापाले समसामयिक राजनीतिक विषय र प्रस्ताव केन्द्रित विषयवस्तुबारे जानकारी गराएका थिए। त्यसैगरी महामन्त्री प्रदीप पौडेलले छलफलका लागि विभिन्न प्रस्ताव प्रस्तुत गरेका थिए।

बैठकमा १५औँ महाधिवेशनको तयारी,नियमावली तथा निर्वाचन निर्देशिका, सदस्यता अद्यावधिक र वितरणका साथै महाधिवेशन तयारी समिति र विधान मस्यौदा समिति गठनलगायत विषयलाई छलफलका लागि अघि सारिएको छ। पछिल्लो समय तराई–मधेशमा भएका घटनाक्रम र सामाजिक सद्भाव कायम गर्ने विषयमा समेत छलफल सुरु भएको छ। सरकारका १०० दिनपछिका गतिविधि तथा प्रमुख प्रतिपक्षी दलका रूपमा संसद् र संसद् बाहिर कांग्रेसको भूमिकाका विषयमा पनि छलफल हुनेछ।

त्यसैगरी बैठकमा प्रदेश सरकारमा विकसित राजनीतिक परिस्थिति, सदस्यता व्यवस्थापनसम्बन्धी केन्द्रीय समितिको निर्णय अनुमोदन, नेपाली जनसम्पर्क समिति, समसामयिक राजनीतिक विषय तथा भ्रातृ संस्थाहरूको विधानसम्बन्धी विषयमा पनि छलफल हुनेछ ।