काठमाडौं, साउन २५ :

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमा राजनीतिक परिपक्वता बढ्दै गएको बताएका छन्।

सोमबार सिंहदरबारमा पत्रकारहरूसँगको भेटमा प्रचण्डले लामिछानेको राजनीतिक भूमिकाको प्रशंसा गर्दै विगतमा आफूले उनको पक्षमा सहयोग गरेको स्मरण गरे। उनले लामिछानेलाई आफूले पनि ‘गुन’ लगाएको भन्दै त्यसको बदलामा के अपेक्षा गरेका छन् भन्नेबारे भने स्पष्ट खुलाएनन्।

प्रचण्डले आफ्नो नेतृत्वको सरकारमा लामिछानेलाई गृहमन्त्री बनाएको, उनी जेलमा रहेका बेला भेट्न गएको र बाहिर आएपछि पनि उनको पक्षमा निरन्तर बोल्दै आएको बताए।

उनले प्रधानमन्त्री बालेन शाहबाहेक रास्वपाका अन्य नेताहरूसँग नियमित संवाद हुने गरेको पनि जानकारी दिए।

वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै प्रचण्डले सरकार यही तरिकाले अघि बढ्न नसक्ने बताए। उनले वर्तमान सरकारलाई ‘समुद्रमा कम्पास हराएको जहाज’को संज्ञा दिए।

रास्वपाभित्र पुराना दलहरू नेकपा, एमाले र कांग्रेसबाट आएका धेरै सांसद रहेकोमा आफू सन्तुष्ट रहेको उनले बताए। सरकारको कार्यशैलीका कारण रास्वपालाई मत दिएका जनतामा समेत पछुतो हुन थालेको प्रचण्डको दाबी थियो।