
मैथिली साहित्यका अग्रणी स्रष्टा, भाषाविद् तथा शिक्षाविद् डा राजेन्द्रप्रसाद विमलको गए राति निधन भएको छ ।
लामो समयदेखि मधुमेह र उच्च रक्तचापबाट पीडित डा विमलको गए राति १२:४५ बजेतिर जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा निधन भएको परिवारजनले बताएको छ । उनको निधनसँगै मैथिली साहित्य, भाषा आन्दोलन तथा मिथिलाको सांस्कृतिक क्षेत्रमा अपूरणीय क्षति भएको साहित्यकारहरूले बताएका छन् ।
डा विमलको पार्थिव शरीर हाल जनकपुरधाम–४ देवीचोकस्थित निवासमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको छ । साहित्यकार, शिक्षाविद्, विद्यार्थी तथा शुभेच्छुकहरूको उपस्थिति छ ।
मैथिली विकास कोष जनकपुरधामका संस्थापक अध्यक्ष रहनुभएका डा विमल मैथिली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा उहाँले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । सन् १९४७ जुलाई २६ मा धनुषा जिल्लाको देवडिहा गाउँस्थित खिरखिरियामा जन्मिनुभएका डा विमल नेपाली, मैथिली र हिन्दी विषयमा स्नातकोत्तर उपाधि हासिल गर्नुभएको थियो भने भाषा विज्ञान विषयमा पिएचडी गरेका थिए ।
जनकपुरधामस्थित रामस्वरुप रामसागर बहुमुखी क्याम्पसमा नेपाली विभागमा लामो समय अध्यापन गर्नुभएका उनी करिब चार दशकको प्राध्यापन यात्रापछि उनी अवकाशप्राप्त भएका थिए ।
साहित्यका क्षेत्रमा अग्रणी श्रष्टा डा विमलको पहिलो कथा ‘विपतिया’ १५ मार्च १९६३ मा मिथिला मिहिर पत्रिकामा प्रकाशित भएको थियो । त्यसयता उहाँ कथा, कविता, गीत, गजल, नाटक, उपन्यास, समालोचना, बालसाहित्य, अनुवाद तथा भाषा विज्ञानका क्षेत्रमा निरन्तर सक्रिय रहेका थिए ।
उनका चर्चित कृतिमा ‘ई हमरे कथा थिक’, ‘इतिहासक घाओ’, ‘डा विमलका कथाहरू’, ‘सरबरिआ गाउँको कथा’ तथा ‘फिस्टी रानी’लगायतका पुस्तक प्रकाशित छन् । उहाँका रचना गोरखापत्र, मधुपर्क, गरिमा लगायतका प्रतिष्ठित पत्रपत्रिकामा प्रकाशित हुँदै आएका थिए ।
उनको कथामा आधारित ‘हंसा चलल परदेश’ नामक मैथिली टेलिफिल्म नेपाल टेलिभिजनबाट प्रसारण समेत भएको थियो । यसले मैथिली साहित्यलाई दृश्य–श्रव्य माध्यममार्फत व्यापक पाठक र दर्शकमाझ पुर्याउन योगदान गरेको जनकपुरधामका साहित्यकार पत्रकार नित्यानन्द मण्डलले बताए ।
डा विमल विभिन्न सरकारी तथा गैरसरकारी संस्थाबाट पुरस्कृत र सम्मानित भएका थिए । उनी विद्यापति पुरस्कार कोषद्वारा स्थापित ‘नेपाल विद्यापति भाषा, साहित्य पुरस्कार’का पहिलो प्राप्तकर्ता थिए । यसका अतिरिक्त उहाँ गरिमा सम्मान, जगदम्बा सम्मान, राष्ट्रिय प्रतिभा पुरस्कार, सिद्धी श्री पुरस्कार लगायतका सम्मानबाट विभूषित भएका थिए ।
साहित्यकार मण्डलका अनुसार उनको लेखनमा राष्ट्रप्रेम, मैथिल अस्मिता, मातृभाषाप्रतिको निष्ठा, लोकजीवनको पीडा, प्रेम, वियोग, आक्रोश र विद्रोह सशक्त रूपमा अभिव्यक्त भएको पाइन्छ । नेपालभित्रको मिथिला र मिथिलावासीको सामाजिक यथार्थलाई मौलिक शैलीमा प्रस्तुत गर्नु उनको लेखनको विशेषता मानिन्छ ।
यसैबीच मैथिली साहित्यका अग्रणी स्रष्टा, भाषाविद् तथा शिक्षाविद् डा विमलको निधनप्रति साहित्यकार तथा पत्रकारहरुले दुख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् ।