
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले बजारमा खाना पकाउने ग्यासको अभाव देखिएको भन्दै सरकारप्रति असन्तुष्टि जनाएकी छन्।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सांसद तामाङले सरकारले पर्याप्त ग्यास रहेको दाबी गरिरहे पनि सर्वसाधारणले भने सहज रूपमा ग्यास पाउन नसकेको बताइन्। पहुँच हुनेहरूले आवश्यकता भन्दा बढी ग्यास लैजाने तर सर्वसाधारणले एउटा सिलिन्डरसमेत सहज रूपमा नपाउने अवस्था रहेको उनको भनाइ थियो।
ग्यास अभावको विषयमा सरकारको ध्यानाकर्षण गराउँदै तामाङले काव्यात्मक शैलीमा सरकारमाथि व्यंग्यसमेत गरिन्।सांसद तामाङले ग्यासजस्तो अत्यावश्यक वस्तुको सहज आपूर्ति सुनिश्चित गर्न सरकार गम्भीर बन्नुपर्नेमा जोड दिइन्। बजारमा ग्यास पर्याप्त रहेको सरकारी दाबी र उपभोक्ताले भोगिरहेको अभावबीच देखिएको विरोधाभास अन्त्य गर्न उनले सरकारको ध्यानाकर्षण गराएकी हुन्।
उनले भनिन् :
ग्यास ग्यास ग्यास
भएन भने रोकिन्छ खाने गाँस।
हातमा छ क्यास तर बजारमा छैन ग्यास।
पहुँच हुनेवालाहरूले लान्छन् छानीछानी तीनवटासम्म, भरीभरी सिलिन्डरका ग्यास।
अनि हुँदैन त छिमेकीका घरमा हाहाकार, भोक र प्यास?
सरकार भन्छ पुग्ने छ ग्यास,
जनताहरू रातदिन खाली सिलिन्डर बोकी सडकमा छन् उठीबास।
थानकोटको मान्छे खाली सिलिन्डर बोकी पुग्नुपर्छ बालाजु र टेकु।
यिनका मनको पीडा म कहाँ गई पोखूँ?
लाग्दछ मलाई रमाइलो, मेरै पाखा पखेरो।
हिमाल फेदीमुन्तिर कहिले बन्छ ग्यास भर्ने पँधेरो?