सुदूरपश्चिम, साउन २७ :

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले भोलि राजीनामा दिने भएका छन्।

प्रदेशसभामा विश्वासको मत पाउने अवस्था नरहे पछि मुख्यमन्त्री शाहले राजीनामा दिन लागेका हुन् । गत असार ३१ गते नेकपा एमालेले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहको सरकार अल्पमतमा परेको थियो।

मुख्यमन्त्री शाहले भोलि राजीनामा दिने मुख्यमन्त्रीका प्रेस सल्लाहकार डम्बरबहादुर बमले जानकारी दिएका छन् ।  मुख्यमन्त्री शाहले भोलि प्रदेश प्रमुख समक्ष राजीनामा बुझाउने तयारी गरेको उनले बताए।

संविधानअनुसार विश्वासको मत लिनुपर्ने ३० दिनको समय सीमा पनि भोलि पूरा हुदैछ ।

विश्वासको मतका लागि आवश्यक बहुमत जुट्ने अवस्था नदेखिएपछि मुख्यमन्त्री शाहले विश्वासको मत लिनु भन्दा राजीनामा दिने निष्कर्षमा पुगेको बुझिएको छ ।

यसैबीच  नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक आज दिउँसो २ बजे बस्ने भएको छ।

बैठकमा समसामयिक विषयमा छलफल हुने बताइएको छ।

मुख्यमन्त्रीले राजीनामा दिएसँगै सुदूरपश्चिममा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्नेछ।

नयाँ सरकार गठनका लागि नेकपा र एमालेबिच यसअघि नै सहमति भइसकेको छ। सहमतिअनुसार नेकपाको नेतृत्वमा नयाँ सरकार गठन हुने तयारी गरिएको छ।