काठमाडौं, साउन २८ :

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू राजनीतिक शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश आएको बताएका छन्।

स्वदेश फर्किएलगत्तै अपिल जारी गर्दै देउवाले आफू नेता बनेर नभई राष्ट्रको आजीवन नागरिकका रूपमा फर्किएको उल्लेख गरेका छन्। सार्वजनिक जीवनमा पदमा रहेर काम गर्दा आलोचना र प्रत्यालोचना हुनु स्वाभाविक भएको भन्दै उनले आफूले सधैँ राष्ट्र, लोकतन्त्र, नागरिक, संविधान र कानुनलाई सर्वोपरि मानेर काम गरेको दाबी गरेका छन्।

‘मैले जीवनमा राष्ट्र, लोकतन्त्र, नागरिक, संविधान र कानुनलाई सर्वोपरि मानी काम गरेको छु। कानुन र नीति विपरीत कुनै काम गरेको छैन। मेरो जीवन खुला किताब हो,’ देउवाले अपिलमा भनेका छन्।

उनले बाँकी जीवन पनि राष्ट्र, राष्ट्रियता, लोकतन्त्र, मुलुक र जनताको सर्वोत्तम हित तथा संविधान, कानुन र नैतिक मूल्य–मान्यताअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। यी विषयमा आफूले कसैसँग सम्झौता नगर्ने उनको भनाइ छ।

देउवाले मुलुकको ‘मियो दल’मा विवाद उत्पन्न हुँदा त्यसको असर राष्ट्रियतामै पर्न सक्ने भन्दै सबै पक्षलाई त्याग, बलिदान र संघर्ष स्वीकार गर्दै अघि बढ्न अपिल गरेका छन्। आफू शक्ति प्राप्तिका लागि नभई राष्ट्रिय एकता सुदृढ गर्ने उद्देश्यले स्वदेश फर्किएको उनको भनाइ छ।

वि.सं. २०३३ सालमा बीपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्किएको प्रसङ्ग स्मरण गर्दै देउवाले अहिले पनि सर्वपक्षीय राष्ट्रिय एकताको आवश्यकता रहेको बताएका छन्।

आफूले राजनीतिक रूपमा लिनुपर्ने केही नरहेको उल्लेख गर्दै देउवाले विगतको अनुभव नयाँ पुस्तासँग साझा गर्नु आफ्नो दायित्व भएको बताएका छन्।

पाँच महिनाभन्दा लामो स्वास्थ्य उपचारपछि ‘पुण्यभूमि’मा फर्कन पाउँदा हृदय गहिरो भावनाले भरिएको पनि देउवाले उल्लेख गरेका छन्। हिमालका शिखर, पहाडका हरियाली र तराईका विशाल मैदानले आफूलाई पुनः आफ्नै घरतर्फ बोलाएको अनुभूति भएको उनले बताएका छन्।

आफ्नो स्वास्थ्यप्रति चासो, चिन्ता र स्वास्थ्यलाभको कामना गर्ने सबैप्रति देउवाले हार्दिक आभार व्यक्त गरेका छन्। देउवा पाँच महिनाभन्दा लामो विदेश बसाइपछि स्वदेश फर्किएका हुन् ।