काठमाडौं, साउन २९ :

बजारमा खाना पकाउने ग्यासको अभाव देखिन थालेपछि कालोबजारी(बढी मूल्यमा बिक्री) हुन सक्ने आशंकामा कागेश्वरी मनोहरा नगरपालिकाले ग्यास पसल तथा डिलरमा छड्के अनुगमन गरेको छ।

नगरपालिकाको अनुगमन टोलीले बिहीबार वडा नम्बर ६ मा रहेका एक दर्जनभन्दा बढी ग्यास पसल तथा डिलरमा छड्के जाँच गरेको छ। अनुगमनका क्रममा अधिकांश पसलमा खाली सिलिन्डर मात्रै भेटिएका थिए भने एउटा पसलमा भने ३५ वटा भरिएका सिलिन्डर फेला परेका थिए।

ती सिलिन्डर अघिल्लो दिन मात्रै आएको र उपभोक्तालाई वितरण गर्न बाँकी रहेको पसल सञ्चालकले बताएको अनुगमन टोलीकी प्रमुख शान्ति ढकालले बताइन् । ग्यास लुकाएर कालोबजारीमा बिक्री हुन सक्ने आशंकामा टोलीले पसलमा खाली सिलिन्डर छाडेर गएका उपभोक्ताको नामावली मागेर त्यसको तथ्यसमेत जाँच गरेको थियो।

ग्यास आउने बित्तिकै नाम टिपाए अनुसार बाँड्ने गरिएको व्यवसायीहरुले अनुगमन टोली समक्ष बताए । ग्यासका लागि अग्रिम रुपमा नै सम्बन्धित डिलर तथा कम्पनीमा पैसा जम्मा गरिसकेको भए पनि आफूहरुले नै ग्यास समयमा नपाएको उनीहरुको गुनासो थियो ।

सरकारले बजारमा निरन्तर ग्यास आपूर्ति भइरहेको बताउँदै आए पनि विभिन्न स्थानमा ग्यास लिन उपभोक्ताको लामो लाइन देखिन थालेपछि नागरिकको हितलाई ध्यानमा राखेर आकस्मिक अनुगमन गरिएको नगरपालिकाले जनाएको छ।

अनुगमनका क्रममा व्यवसायीलाई ग्यास लुकाएर राख्ने, कृत्रिम अभाव सिर्जना गर्ने तथा कालोबजारीमा बिक्री नगर्न सचेत गराइएको छ। नगरपालिकाले उपभोक्तालाई अस्वाभाविक रूपमा बढी मूल्य तिराएर ग्यास बिक्री गरेको पाइएमा आवश्यक कारबाही गर्ने जनाएको छ।

अनुगमनका क्रममा केही पसलमा व्यवसाय दर्ता एउटा प्रकृतिको भए पनि किराना, मदिरालगायत विभिन्न वस्तुको बिक्री–वितरण एउटै स्थानबाट भइरहेको पाइएको थियो। नगरपालिकाले त्यस्ता व्यवसायलाई प्रकृतिअनुसार छुट्टाछुट्टै दर्ता गर्न निर्देशन दिएको छ।

नगरपालिकाले कालोबजारी नियन्त्रण, उपभोक्ता हित संरक्षण तथा बजारमा गुणस्तरीय वस्तुको बिक्री–वितरण सुनिश्चित गर्न आकस्मिक रुपमा बजार अनुगमन गर्दै आएको जनाएको छ।