
गृहमन्त्री सुधन गुरूङले कुनै व्यक्तिमाथि आरोप लगाउन पाइयो भन्दैमा चरित्र हत्या गर्न नपाइँने बताएका छन् । उनले उजुरीकै आधारमा कसैलाई दोषी ठहर गर्दै न्यायाधीश बन्न नहुने धारणा राखेका छन्।
शुक्रबार प्रतिनिधि सभाको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै गृहमन्त्री गुरूङले सार्वजनिक लेखा समितिमा गृह सचिव राजकुमार श्रेष्ठ र नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीमाथि गरिएको व्यवहारप्रति असन्तुष्टि जनाए।
‘मेरो अनुपस्थितिमा गृह सचिव र नेपाल प्रहरीका आइजिपीलाई जुन व्यवहार सार्वजनिक लेखा समितिमा भयो, त्यसमा मेरो ध्यानाकर्षण भएको छ,’ उनले भने, ‘यो राम्रो भएन। उजुरीको भरमा न्यायाधीश बन्न मिल्दैन। आरोप लगाउन पाइयो भन्दैमा चरित्र हत्या गर्न पाइँदैन।’
गृहमन्त्री गुरूङले उक्त घटनाप्रति गृह मन्त्रालयको समेत ध्यानाकर्षण भएको बताउँदै भने, ‘हामी खुसी छैनौं।’
केही दिनअघि सार्वजनिक लेखा समितिको बैठकमा सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले गृह सचिव श्रेष्ठ र आईजीपी कार्कीमाथि विभिन्न आरोप लगाउँदै कडा टिप्पणी गरेका थिए। उक्त व्यवहारलाई लिएर पछिल्लो समय आलोचना हुँदै आएको छ।
गृहमन्त्री गुरूङले आईजीपी कार्कीले गृह मन्त्रालयको निर्देशनअनुसार काम गरिरहेको आफू प्रत्यक्षदर्शी रहेको दाबी गरे। उनका अनुसार आईजीपी दिनरात गृह मन्त्रालयको निर्देशन कार्यान्वयनमा खटिरहेका छन्।‘आईजीपीको कामको म प्रत्यक्षदर्शी हुँ। उहाँ गृह मन्त्रालयको निर्देशनमा दिनरात खटिरहनुभएको छ,’ उनले बताए।