नवलपरासी, साउन ३० :

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री राजेन्द्रप्रसाद लिङ्देनले राष्ट्र हितका लागि राष्ट्रिय सहमति गर्न आवश्यक रहेको बताएका छन् ।

पश्चिम नवलपरासीमा राष्ट्रिय प्रजातन्त्र पार्टी नवलपरासीको जिल्ला अधिवेशनलाई आज सम्बोधन गर्दै उनले मुलुकका लागि राजनीतिक दलहरूले राष्ट्रिय सहमति गर्नुपर्नेमा जोड दिए । देश जटिल र असामान्य अवस्था बीच गुज्रिरहेका बेला सबै राजनीतिक दल निषेधको मनोभावनाभन्दा माथि उठेर सहकार्य र सहमतिको बाटो रोज्नुपर्ने उनले भने ।

राप्रपा नवलपरासीको जिल्ला अधिवेशनमा जिल्ला नेतृत्वका लागि चार जनाको उम्मेदवारी परेको थियो । एक जना उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि तीन जना बीच प्रतिस्पर्धा हुने भएको छ ।