सिरहा, साउन ३१ :

सिरहाको बन्दीपुरस्थित बाबाताल वरपर विभिन्न प्रजातिका वृक्षरोपण गरिएको छ। बाबातालको संरक्षणसँगै वातावरणीय संवर्द्धन गर्ने उद्देश्यले वृक्षरोपण गरिएको जनाइएको छ। कार्यक्रममा सहभागी वक्ताहरूले चुरे क्षेत्रको महत्त्व, जलस्रोत संरक्षण तथा पर्यावरणीय सन्तुलन कायम गर्न तालतलैयाको संरक्षण आवश्यक रहेकोमा जोड दिएका थिए।

कार्यक्रममा कर्जन्हा नगरपालिकाका प्रमुख भोला पोखरेल, शिक्षाविद् तथा साहित्यकार डा. रामप्रसाद दाहाल, संविधानविद् काशीराज दाहाललगायतले मन्तव्य व्यक्त गरेका थिए। वक्ताहरूले मधेस प्रदेशका महत्वपूर्ण जलसम्पदामध्ये सिराहाको बाबाताल र बाराको भरततालको चर्चा गर्दै यस्ता प्राकृतिक सम्पदाको संरक्षण र विकासलाई स्थानीय जनजीवनसँग जोडेर अघि बढाउनुपर्ने धारणा राखेका थिए।

उनीहरूले चुरे क्षेत्रको संरक्षण हुन सके तराई-मधेसको जलस्रोत, कृषि, जैविक विविधता तथा जनजीवनमा सकारात्मक प्रभाव पर्ने उल्लेख गर्दै बाबाताललाई पर्यटकीय तथा वातावरणीय दृष्टिले समेत विकास गर्नुपर्नेमा जोड दिएका थिए। कार्यक्रममा बाबाताल, नन्दबाबा तथा कमला नदीको उत्तरायणसँग जोडिएका स्थानीय धार्मिक, सांस्कृतिक तथा प्राकृतिक पक्षबारे समेत चर्चा गरिएको थियो।

वडाध्यक्ष जगन्नाथ यादवको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि पोखरेल रहेका थिए भने  शिक्षाविद् तथा साहित्यकार डा. रामप्रसाद दाहाल र संविधानविद् काशीराज दाहाल विशिष्ट अतिथिका रूपमा सहभागी थिए।

कार्यक्रममा कर्जन्हा नगरपालिकाका वडा नं. १ र २ का वडा अध्यक्ष क्रमशः फडिन्द्र पोखरेल र जगन्नाथ यादव, प्राडा कुमुदराज काफ्ले, केशवराज दाहाल, कोपिला घिमिरे, बाबुराम दाहाल, भोला दाहाल, सावित्रा पोखरेललगायत विभिन्न जनप्रतिनिधि, बुद्धिजीवी, स्थानीयवासी तथा बाबाताल संरक्षण समितिका पदाधिकारी र सदस्यहरूको सहभागिता रहेको थियो।