काठमाडौं, साउन ३१ :

नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आयोजना गरेको राष्ट्रिय सम्मेलनको समापन सत्रमा निर्णय सुनाउने क्रममा नेताहरूबीच विवाद देखियो। 

सम्मेलनमा सहभागी नेताहरूबाट प्राप्त सुझावका आधारमा तयार पारिएको प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने क्रममा नेता विमलेन्द्र निधि र डा. प्रकाशशरण महतबीच मतभेद देखिएको हो। सम्मेलनमा ‘१४औँ महाधिवेशनबाट निर्वाचित पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा १५औँ महाधिवेशन सम्पन्न हुनेछ’ भन्ने प्रस्ताव प्रस्तुत भएपछि हलले ताली बजाएर अनुमोदन गरेको थियो। 

त्यसपछि निर्णयको शब्दावली वाचनमा अलमल देखिएपछि विवाद सतहमा आएको थियो। प्रस्ताव वाचन भइरहेको पोडियममा डा. महत पुगेका थिए। उनले निर्णयमा ‘कार्यसमिति’ शब्दसमेत राख्न आग्रह गरेको सुनिन्थ्यो। त्यसपछि नेता निधि पनि पोडियममा पुगेका थिए।

‘तपाईंहरू हट्नुस्, म बुझ्छु’ भन्दै निधिले महतलाई पोडियमबाट हट्न आग्रह गरेका थिए। केहीबेर पोडियममै छलफल भएपछि महतले निधिको हात समातेर उनलाई मञ्चतर्फ लगेका थिए।

सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोमा भने दुवै नेताबीच भनाभन तथा कागज तानातान भएको देखिन्छ। विवादको अर्को विषय धर्मसम्बन्धी प्रस्तावको शब्दावली बनेको थियो। महतले तयार पारेको प्रस्तावमा ‘सनातनदेखि मानिँदै आएका धर्महरू मान्न सबै स्वतन्त्र हुने’ उल्लेख थियो। निधिले भने त्यसको सट्टा ‘धार्मिक स्वतन्त्रता’ मात्र उल्लेख गर्नुपर्ने धारणा राखेका थिए।

मञ्चमै शीर्ष नेताहरूबीच विवाद बढेपछि निवर्तमान सभापति शेरबहादुर देउवाले हस्तक्षेप गरेका थिए। देउवाको निर्देशनपछि डा. महतले तयार पारेकै ‘सनातनदेखि मानिँदै आएका धर्महरू मान्न सबै स्वतन्त्र हुने’ भन्ने बुँदा वाचन गरिएको थियो।

सम्मेलनको समापनका क्रममा निर्णयको शब्दावली, निर्वाचित कार्यसमिति र धर्मसम्बन्धी विषयमा नेताहरूबीच मतभेद देखिए पनि अन्ततः प्रस्तावहरू सर्वसम्मत रूपमा पारित गरिएको छ।